आगामी तीन दिन देशभर हुस्सु–कुहिरो, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना

आगामी तीन दिन देशभर हुस्सु–कुहिरो, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना

काठमाडौं — जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन (२०८२ पुष १२ देखि १४ गतेसम्म) देशका अधिकांश तराई भू–भागमा हुस्सु तथा कुहिरो रहने पूर्वानुमान गरेको छ।

पुष १२ गते (शनिबार)
दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका तराई क्षेत्रमा मध्यान्नसम्म र बाँकी तराई क्षेत्रमा मध्यान्नपछि पनि कुहिरोको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
राति तराईका अधिकांश स्थानमा हुस्सु लाग्नेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

पुष १३ गते (आइतबार)
दिउँसो तराईमा हुस्सु/कुहिरो यथावत् रहनेछ। देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
राति तराईमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना कायम रहनेछ।

पुष १४ गते (सोमबार)
दिउँसो पनि तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ। पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति तराईमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रही ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा/हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले तराई क्षेत्रमा कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

स्रोतः मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग