मकवानपुरको चिसापानी गढीमा ईभी हायस दुर्घटना: एउटै गाउँका बालबालिकासहित १४ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते
मकवानपुर । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी (विद्युतीय) हायस मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीको भिरबाट खस्दा १४ जनाको घटनास्थलमै दर्दनाक मृत्यु भएको छ । बिहीबार बिहान म.प्र. ०३–००१ ज ०८८० नम्बरको उक्त हायस अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खस्दा यो भयानक मानवीय क्षति भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा अधिकांश सर्लाहीको एउटै टोलका बासिन्दा र नाबालक बालबालिकाहरू समेत रहेका छन् । मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कविलासी गाउँपालिका–८ बस्ने अन्दाजी ३० वर्षीय रवि शंकर कुमार मण्डल रहेका छन् । यस्तै, हायसमा सवार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका एकै परिवार र टोलका सदस्यहरूमा अन्दाजी २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ३५ वर्षीय गुड्डु यादव, अन्दाजी ३०–३२ वर्षीया गायत्री देवी, २५ वर्षीय राम दुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय किशोर रोहन यादवको मृत्यु भएको छ ।
यस हृदयविदारक दुर्घटनामा कलिला बालबालिकाहरूले समेत ज्यान गुमाएका छन् । सुन्दरपुर टोलकै १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादवको घटनास्थलमै मृत्यु भएको हो । मृतकमध्ये अन्य ३ जनाको भने हालसम्म नाम, थर र वतन खुल्न सकेको छैन । प्रहरीले उनीहरूको सनाखत गर्ने प्रयास गरिरहेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका हायसमा सवार अन्य ३ जना यात्रुहरूको अवस्था चिन्ताजनक रहेको छ । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ भने १ जनालाई चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा रिफर गरिएको छ ।
कठिन भौगोलिक बनावट र भिरालो बाटोका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको थियो । एउटै गाउँका यति धेरै नागरिक र साना बालबालिकाको एकैपटक मृत्यु भएपछि यतिबेला सर्लाहीको सुन्दरपुर टोल शोकमा डुबेको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अगाडि बढाएको छ ।



प्रतिकृया दिनुहोस्