शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
नेपालीहरूको महान् चाड शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा पवित्र छठ पर्व २०८३ को यस पावन अवसरमा श्री कामना बोर्डिङ हाई स्कुल, काठमाडौँ परिवारको तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय आमा, बुबा, दाजुभाइ,दिदीबहिनी, आदरणीय अभिभावक वर्ग, प्रिय विद्यार्थी भाइबहिनीहरू, शिक्षक-कर्मचारी साथीहरू, शिक्षाप्रेमी, शुभचिन्तक तथा सम्पूर्ण शैक्षिक एवम् सामाजिक क्षेत्रका महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
उज्यालो, खुसी र भाइचाराको प्रतीकको रूपमा मनाइने दीपावली (तिहार) ले हाम्रा घरआँगन मात्र होइन, मनभित्रको अज्ञानता र अन्धकारलाई हटाएर ज्ञान र संस्कारको ज्योति फैलाउने प्रेरणा प्रदान गर्दछ। जसरी तिहारका झिलिमिली बत्तीहरूले चारैतिर सुन्दर उज्यालो छर्दछन्, त्यसैगरी हाम्रा बालबालिकाहरूमा उच्च नैतिक मूल्य, गुणस्तरीय शिक्षा, र व्यावहारिक ज्ञानको उज्यालो भर्नु हाम्रो मुख्य ध्येय हो। तमसो मा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालोतर्फको यो यात्रा नै वास्तविक शिक्षाको मार्ग हो भन्ने भावनाका साथ कामना बोर्डिङ हाई स्कुल सदैव समर्पित छ।
हाम्रो मौलिक संस्कृति, स्वाभिमान र पहिचानको प्रतीक नेपाल संवत् ११४७ को आगमनले हामी सबैमा नयाँ सोच, एकता र नवीन ऊर्जा थपोस्। राष्ट्रिय संवत्का रूपमा रहेको नेपाल संवत्ले हामीलाई आफ्नै जग र पहिचानमा उभिएर विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार हुन प्रेरित गर्दछ। २१औँ शताब्दीको आधुनिक र प्रविधियुक्त युगमा हाम्रा बालबालिकालाई आफ्ना मौलिक परम्परा, संस्कृति र मानवीयनियमको जगमा उभ्याउँदै उत्कृष्ट शैक्षिक उन्नयनतर्फ अघि बढाउनु आजको आवश्यकता हो।
त्यसैगरी, प्रकृति, सूर्यदेव र छठी मैयाको पूजा-आराधना गरी अत्यन्त निष्ठा, पवित्रता र अनुशासनका साथ मनाइने छठ पर्वले हामीलाई धैर्य,संयम, समानता र प्राकृतिक सन्तुलनको गहिरो सन्देश दिन्छ। शिक्षा क्षेत्रमा पनि यही अनुशासन, निष्ठा र निरन्तरको साधनाले नै विद्यार्थीहरूलाई सफलताको शिखरमा पुर्याउँछ। छठ पर्वको यस पावन सन्देशलाई आत्मसात् गर्दै हाम्रा विद्यार्थीहरूलाई सभ्य, अनुशासित र प्रतिस्पर्धी नागरिक बनाउन हामी प्रतिबद्ध छौँ।
अन्त्यमा, यी पावन चाडपर्वहरूले हामी सम्पूर्ण नेपालीहरूमा एकापसमा भाइचारा, सहिष्णुता र आत्मीयता अभिवृद्धि गरुन्। श्री कामना बोर्डिङ हाई स्कुल यहाँहरू सबैको निरन्तरको विश्वास, मार्गदर्शन र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै बालबालिकाको सर्वाङ्गीण विकास,गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्य निर्माणमा सदैव समर्पित रहने प्रतिबद्धता दोहोर्याउँछ। पुन: सम्पूर्णमा शुभ दीपावली, नेपाल संवत् ११४७ र छठ पर्व २०८३ को हार्दिक शुभकामना!
कृष्ण प्रसाद अर्याल
म्यानेजिङ डाइरेक्टर
श्री कामना बोर्डिङ हाई स्कुल, काठमाडौँ


