बुढानीलकण्ठमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती तथा साहित्यिक गोष्ठी सम्पन्न

बुढानीलकण्ठमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती तथा साहित्यिक गोष्ठी सम्पन्न

बुढानीलकण्ठ, काठमाडौँ — महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती तथा दीपावलीको पवित्र अवसर पारेर राजधानीको बुढानीलकण्ठ नगरपालिका वडा नं. ४, पासीकोटस्थित मगर सांस्कृतिक केन्द्रको प्राङ्गणमा विशेष साहित्यिक गोष्ठी तथा कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल कल्चर मिडिया प्रा.लि. को आयोजनामा सम्पन्न भएको यस कार्यक्रमले नेपाली साहित्य क्षेत्रमा थप ऊर्जा र उत्साह थपेको छ।

कार्यक्रमको आरम्भमा नेपाल कल्चर मिडिया सेन्टरका तर्फबाट स्वागत मन्तव्य राख्दै सञ्चालक अविनाशले उपस्थित सम्पूर्ण साहित्यप्रेमीहरू, द्रष्टा तथा अतिथिहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो। गत साल महाकवि देवकोटा जयन्तिको अवसर पारेर सुरु गरिएको ‘घुम्ती कविकोष्ठी’ शृङ्खला विभिन्न कारणवश (जस्तै चुनाव र चिसो मौसम) निरन्तरता पाउन नसकेको सन्दर्भ जोड्दै, यस पवित्र दिनदेखि यसलाई प्रत्येक महिनाको एक शनिबार नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै, कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूको सल्लाहबमोजिम यस साहित्यिक अभियानको आधिकारिक नाम बेगम वली साहित्य समूह राखिएको घोषणा गरिएको थियो।

बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको विशेष संयोजन तथा आतिथ्यतामा सम्पन्न भएको उक्त अनौपचारिक कार्यक्रममा विभिन्न ख्यातिप्राप्त साहित्यिक व्यक्तित्व, कवि, सर्जक तथा देवकोटा परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। घुम्ती साहित्यिक कार्यक्रममार्फत देशका विभिन्न स्थानमा पुगी साहित्य सिर्जना र समृद्धिमार्फत समुन्नत समाजको निर्माणमा टेवा पुग्ने विश्वास उपप्रमुख लामाले व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न ख्यातिप्राप्त स्रष्टाहरूले आ-आफ्ना उत्कृष्ट रचनाहरू वाचन गर्नुभएको थियो। कवि तथा गीतकार श्याम संकल्पले “जिन्दगीमा कसैलाई पनि थुक्न नपरोस्, जिन्दगीमा कसैको शिर मुन्तिर नझरोस्…” लगायतका जीवनोपयोगी रचनाहरू सुनाएर श्रोताहरूको मन जित्नुभएको थियो। त्यस्तै, गोविन्दराज पोखरेलले प्रकृति, मानव जीवन र समाजका विविध पक्षलाई समेट्दै मार्मिक कविता प्रस्तुत गर्नुभएको थियो। नारी सशक्तिकरण र आत्मसम्मानको पक्षमा वकालत गर्दै कवयत्री अनिता लामाले “म भएर बाँच्न देऊ…” शीर्षकको ओझेलपूर्ण कविता वाचन गर्नुभएको थियो।

कार्यक्रममा ठाँटी खबरका प्रधान सम्पादक तथा साहित्यकार दामोदर भट्टले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन, व्यक्तित्व, कृतित्व र नेपाली साहित्यमा उनको अतुलनीय योगदानको प्रकाश पार्नुहुँदै “पासिकोटको काखमा” शीर्षकको भावुक एवम् मार्मिक कविता वाचन गर्नुभएको थियो। साथै, वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, कमला देवकोटा, लीलाधर सापकोटा, गङ्गा खतिवडा, गङ्गा खड्का, अमर अधिकारी लगायत दर्जनौँ कविहरूले आफ्ना उत्कृष्ट साहित्यिक सिर्जनाहरू वाचन गर्नुभएको थियो।

शुभ दीपावली २०८३ को शुभकामना आदानप्रदानसहित सेलरोटी र अचारले उपस्थित सम्पूर्ण साहित्यकार तथा अतिथिहरूलाई न्यानो आतिथ्यता प्रदान गरिएको थियो। कार्यक्रमका वक्ताहरूले महाकवि देवकोटाको सिर्जनात्मक साधनालाई स्मरण गर्दै नेपाली भाषा, साहित्य र कलाको जगेर्ना गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो। अन्त्यमा, आयोजकहरूको तर्फबाट उपस्थित सम्पूर्ण स्रष्टा, साहित्यप्रेमी तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस साहित्यिक शृङ्खलालाई अझ बढी प्रभावकारी र नियमित रूपमा अगाडि बढाउने प्रतिज्ञाका साथ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।