सम्पर्कविहीनका आफन्तले नेपाल प्रहरी अस्पतालमा डीएनए प्रोफाइलिङ गराउन सक्ने
काठमाडौं, १७ भदौ । नेपाल प्रहरी अस्पतालले रसुवा भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शव पहिचान गर्न डीएनए प्रोफाइलिङ प्रक्रिया सुरु गरेको छ।
बाढीपछि सम्पर्कविहीन रहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डीएनए परीक्षणमार्फत फेला परेका शव वा शरीरका अंगको पहिचान सुनिश्चित गर्न सक्ने गरी नेपाल प्रहरी अस्पतालले डीएनए प्रोफाइलिङ सुरु गरेको हो।
नेपाल प्रहरी अस्पतालमा आज १७:०० बजेसम्म सम्पर्कविहीन व्यक्तिका परिवारबाट डीएनए प्रोफाइलिङका लागि ५३९ वटा नमुना संकलनगरिएको छ।
नेपाल प्रहरी अस्पतालका प्रहरी प्रवक्ता तथा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र दुई प्रति फोटोसहित अस्पतालमा उपस्थित भई ताजा रगत (Fresh Blood) को नमुना दिन सक्नेछन्।
उहाँका अनुसार अस्पतालमा उपलब्ध फाराम भर्नुपर्नेछ। फाराम भर्न नसक्ने व्यक्तिलाई अस्पतालले आवश्यक सहयोग तथा सहजीकरण गर्नेछ। त्यसपछि विशेषज्ञ प्राविधिक टोलीमार्फत नमुना संकलन गरिनेछ।
संकलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा परीक्षणका लागि पठाइने अधिकारीले जानकारी दिनुभयो।
यसैबीच, नेपाल प्रहरीको घटनास्थल अनुसन्धान अधिकृत (SOCO) सहितको टोलीले बाढी प्रभावित क्षेत्रमा बाढीका कारण मृत्यु भएका व्यक्तिको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम गरिरहेको छ।
फेला परेका शव तथा शवका अवशेषलाई सावधानीपूर्वक संकलन गरिएको छ। शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा Dead Body Bag मा राख्ने तथा फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका तस्बिर तथा उपलब्ध पहिचानसम्बन्धी विवरणसमेत प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
पहिचान खुल्न नसकेका प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत तथा कोड नम्बर प्रदान गरी फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्रीलगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको छ।
वैज्ञानिक विधिबाट पहिचान गर्न सकिने गरी त्यस्ता शवबाट डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा संरक्षण गर्ने व्यवस्था पनि गरिएको प्रहरीले जनाएको छ।
फेला परेका शव वा शरीरका अंगको डीएनए परीक्षणमार्फत पहिचान गर्न नजिकको रक्तसम्बन्धी नाता—बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना आवश्यक पर्नेछ।
नमुना दिन चाहने व्यक्तिले पासपोर्ट साइजको दुई प्रति फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगन्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
त्यसैगरी, विदेशमा रहेका हराइरहेका विदेशी नागरिकका हकमा सम्बन्धित व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले विदेशमै डीएनए प्रोफाइलिङ गराई तुलनाका लागि डीएनए प्रोफाइलको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सक्ने व्यवस्था गरिएको छ।
स्रोत : नेपाल प्रहरी प्रधान कार्यालय



प्रतिकृया दिनुहोस्