एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड

एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) र परराष्ट्र मन्त्रालयअन्तर्गतको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाबीच विविध द्विपक्षीय विषयमा उच्चस्तरीय भेटघाट तथा छलफल सम्पन्न भएको छ। महाशाखाका सहसचिव पुष्पराज भट्टराई र संघका पदाधिकारीहरूबीच भएको उक्त छलफल मुख्यगरी गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, आगामी कार्यक्रम तथा नेपालमा वैदेशिक लगानी अभिवृद्धि गर्ने विषयमा केन्द्रित थियो।

बैठकमा गैरआवासीय नेपाली नागरिकता प्राप्त भइसकेको सन्दर्भमा यसबाट प्राप्त हुने संवैधानिक अधिकारको पूर्ण र प्रभावकारी उपयोगका लागि कानुनी तथा प्रशासनिक झन्झटहरू फुकाउनुपर्नेमा जोड दिइयो। यसैगरी, विदेशमा रहेका नेपालीहरूको पुँजीलाई स्वदेशको विकासमा परिचालन गर्ने लक्ष्यका साथ अघि बढाइएको ‘एनआरएनए डेभलपमेन्ट फन्ड’को हालको प्रगति र भावी दिशाबारे पनि विस्तृत समीक्षा गरिएको थियो।

यसैगरी, आगामी डिसेम्बर र जनवरी महिनामा एनआरएनएले आयोजना गर्न लागेका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई व्यवस्थित र फलदायी बनाउने विषयमा सरकारी निकायसँगको आवश्यक समन्वय र सहकार्यबारे छलफल भएको थियो। भेटघाटमा परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै डायस्पोराको हितरक्षाका लागि निरन्तर सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरियो।

उक्त महत्त्वपूर्ण छलफलमा एनआरएनएका प्रमुख संरक्षक डा. बद्री केसी, वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, उपाध्यक्ष रोजिना प्रधान राई,महासचिव डा. चिरञ्जीवी खड्का, कोषाध्यक्ष कृष्ण तिमल्सिना, उपमहासचिवद्वय दिनेश घिमिरे र दिपक ओलीको उपस्थिति रहेको थियो। साथै सल्लाहकार डा. पुरु श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा एनआरएनए डेभलपमेन्ट फन्डका सीइओ अनलराज भट्टराई लगायतको समेत सहभागिता रहेको थियो।

तस्बिर:गैरआवासीय नेपाली संघ (एनआरएनए)