साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
काठमाडौँ । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ। आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा बैंकले २०८३ कात्तिक १३ गते शुक्रबार केन्द्रीय कार्यालय बालुवाटारमा एक विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको छ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको गौरवपूर्ण यात्रामा साथ दिने संस्थापकहरू, सञ्चालक समितिका पदाधिकारीहरू, ग्राहक, शेयरधनी महानुभाव, कर्मचारी तथा नियमनकारी निकायहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले आगामी दिनमा बैंकले आफ्ना ग्राहकहरूलाई अझ स्मार्ट, आधुनिक र उत्कृष्ट सेवा प्रदान गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वार्षिकोत्सवका अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परोपकारी कार्यक्रमहरूको घोषणा गरेको छ। जसअनुसार हुम्लाको सिमकोटस्थित डाँडाफाया स्वास्थ्यचौकीमा महिलाहरूका लागि प्रसूति रोग विशेषज्ञद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।
यसैगरी, सिमकोट-२, हुम्लास्थित श्री रामदेव माध्यमिक विद्यालयका १०६ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरिने बैंकले जनाएको छ। त्यस्तै, रोल्पाको सुनिलस्मृति गाउँपालिका-२ स्थित खुङ्ग्री स्वास्थ्यचौकीलाई एक-एक थान ‘बेबी वार्मर’ र ‘अटोक्लेभ ड्रम सेट’ हस्तान्तरण गर्ने घोषणा गरिएको छ।
कार्यक्रममा बैंकमा ५ वर्ष र १० वर्ष निरन्तर सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई उनीहरूको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरिएको थियो।
हाल साङ्ग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आगामी दिनमा सेवालाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने बैंकले जनाएको छ।



प्रतिकृया दिनुहोस्