सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
काठमाडौँ। पछिल्लो समय बजारमा पाइने विभिन्न ब्राण्डका इनर्जी ड्रिंक्स (Energy Drinks) हरूबारे अनेकौँ किसिमका भ्रम र समाचारहरू बाहिरिएपछि नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गम्भीर ध्यानाकर्षण गराउँदै आधिकारिक सूचना जारी गरेको छ।
विभागले सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपभोक्ता हितलाई ध्यानमा राख्दै इनर्जी ड्रिंक्सको प्रयोग, यसमा हुने तत्वहरू र कसले सेवन गर्न हुन्छ/हुँदैन भन्ने विषयमा प्रस्ट पारेको छ।
के हो इनर्जी ड्रिंक्स र यसमा के-के हुन्छ?
विभागका अनुसार इनर्जी ड्रिंक्स भनेको मदिरारहित (Non-alcoholic) र क्याफिनयुक्त पेय पदार्थ (Caffeinated beverages) हो। यसमा मुख्य रूपमा क्याफिन (Caffeine), गुआराना (Guarana), ग्लुकुरोनोल्याक्टोन, टोरिन (Taurine), इनोसाइटोल, कार्निटिन, भिटामिन-बी,चिनी, पानी र अन्य खाद्य योगशीलहरू प्रयोग गरिएको हुन्छ।
नेपालमा बिक्री हुने इनर्जी ड्रिंक्स सुरक्षित छ?
विश्वव्यापी रूपमा European Food Safety Authority (EFSA) र USFDA जस्ता निकायहरूले एक वयस्क स्वस्थ व्यक्तिले दिनमा अधिकतम ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्नु सुरक्षित मानेका छन्।
हाल नेपालमा १७ वटा उद्योगहरूले सरकारी अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। विभागका अनुसार नेपालमा उत्पादित वा बिक्रीमा रहेका इनर्जी ड्रिंक्सका प्रत्येक क्यानमा प्रति क्यान अधिकतम १०० मिलिग्राम (सुरक्षित मात्राको २५ प्रतिशतभन्दा कम) मात्र क्याफिन रहेको प्रयोगशाला विश्लेषणबाट प्रमाणित भएको छ।
सावधान! यी व्यक्तिहरूले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्
विभागले उत्पादक, विक्रेता र आम उपभोक्तालाई इनर्जी ड्रिंक्सको क्यानमा लेखिएका सचेतना सन्देशहरू अनिवार्य पालना गर्न चेतावनी दिएको छ। विशेष गरी निम्न व्यक्तिहरूले इनर्जी ड्रिंक्स सेवन बिल्कुलै गर्नु हुँदैन:
- बालबालिकाहरू
- गर्भवती तथा सुत्केरी महिलाहरू
- मधुमेह (Suger) लगायतका दीर्घ रोगीहरू
- क्याफिनप्रति संवेदनशील व्यक्ति वा क्याफिनले असर गर्ने समूह
सेवन गर्दा ध्यान दिनुपर्ने कडा नियमहरू
यदि तपाईं स्वस्थ र वयस्क हुनुहुन्छ र इनर्जी ड्रिंक्स सेवन गर्नुहुन्छ भने पनि निम्न कुराहरूमा विशेष ध्यान दिनुपर्छ:
१. दैनिक सीमा: ३३० मि.लि. सम्मका क्यान भएमा दिनमा दुई क्यानभन्दा बढी उपभोग नगर्नुहोस्। २. विकल्प नबनाउनुहोस्: इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध वा मोही जस्ता स्वास्थ्यवर्धक र पौष्टिक पेय पदार्थको सट्टामा कहिल्यै प्रयोग नगर्नुहोस्। ३. मिश्रण नगर्नुहोस्: इनर्जी ड्रिंक्सलाई अन्य कुनै पनि पेय पदार्थ वा मदिरामा मिसाएर उपभोग नगर्नुहोस्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिंक्स उत्पादक तथा विक्रेताहरूलाई प्रचलित कानूनबमोजिम अनुमति लिएर मात्र विज्ञापन गर्न र विज्ञापन गर्दा अनिवार्य रूपमा सचेतना सन्देश तथा सुरक्षित उपभोगको मात्रा प्रसारण/प्रकाशन गर्न कडा निर्देशन दिएको छ।




प्रतिकृया दिनुहोस्