आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’

आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’

काठमाडौं, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा टिप्पणीहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले १२ कात्तिकमा विज्ञप्ति जारी गर्दै यस्ता समाचारहरू अपुष्ट, भ्रामक, तथ्यहीन एवम् स्वार्थकेन्द्रित रहेको स्पष्ट पारेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मकता सृजना हुनुका साथै सुरक्षा जोखिम बढ्न सक्छ। नागरिकको सेवामा सदैव समर्पित सुरक्षा संस्थाप्रतिको विश्वास, सांगठनिक छवि र निष्ठामा असर पर्ने भएकाले यस्ता कपोलकल्पित तथा भ्रामक सूचनाको पछि नलाग्न नेपाल प्रहरीले सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालाहरूमा हार्दिक अनुरोध गरेको छ।

सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै प्रहरीले समाचार सम्प्रेषण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न आग्रह गरेको छ। पत्रकारिताको व्यावसायिक आचारसंहिता तथा राज्यको चौथो अङ्गको जिम्मेवारी निर्वाह गर्दै सूचनाको सत्यता सुनिश्चित गरेर मात्र समाचार प्रकाशन वा प्रसारण गर्न प्रहरीले ध्यानाकर्षण गराएको छ।

नेपाल प्रहरी सरकारको नीति-निर्देशन अनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी एवम् उत्तरदायित्व निर्वाह गर्न सदैव समर्पित रहेको स्पष्ट पारिएको छ। कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको जनाउँदै प्रहरी प्रधान कार्यालयले सकल दर्जाका कर्मचारीहरूलाई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न निर्देशनसमेत दिएको छ।

सार्वजनिक सुरक्षा, शान्ति-अमनचयन र अपराध नियन्त्रणमा प्रतिबद्ध प्रहरी संगठनलाई विवादमा तानेर कमजोर बनाउने वा सरकारविरुद्ध खेल्ने नियतले नियोजित रूपमा भ्रामक सूचना फैलाउने निश्चित समूहको चालबाजीमाथि कडा निगरानी राखिएको प्रहरीले जनाएको छ। सङ्गठनको प्रतिष्ठामाथि भ्रम सिर्जना गर्ने यस्ता सीमित व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने विज्ञप्तिमा उल्लेख छ।