रसुवा बाढीमा ज्यान गुमाएका प्रहरी परिवारलाई १० लाखदेखि सन्तानको शिक्षासम्म : नेपाल प्रहरीको महत्वपूर्ण निर्णय
काठमाडौं, १७ भदौ । रसुवा भोटेकोशी/त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका तथा प्रभावित प्रहरी कर्मचारी र उनीहरूका परिवारलाई नेपाल प्रहरीले विशेष राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई तत्काल राहतस्वरूप प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। उक्त रकम प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलन गरिएको रकमबाट उपलब्ध गराइनेछ।
बैठकले बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना तथा मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
त्यस्तै, बाढीपछि सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजीलाई थप प्रभावकारी बनाउन परिवारका सदस्यसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय गरिएको छ।
नेपाल प्रहरीले दिवंगत प्रहरी कर्मचारीका परिवारलाई तत्कालीन राहतसँगै दीर्घकालीन सहयोगको समेत व्यवस्था गर्ने निर्णय गरेको छ।
बैठकले दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय गरेको छ। साथै, परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने नेपाल प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय, साँगा, काभ्रेमा उच्च तहसम्मको अध्ययनका लागि शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीलाई समेत राहत उपलब्ध गराउने निर्णय गरिएको छ। इप्रका टिमुरे, अप्रपोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिको राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ।
दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका आफन्त तथा परिवारजनलाई खोजतलास, उपचार तथा आवश्यक सेवा–सुविधा प्राप्तिमा सहजीकरण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत गरेको छ।
बैठकले रसुवा भोटेकोशी/त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।
विपद्को कठिन परिस्थितिमा आफ्नै संगठनका कर्मचारी तथा परिवारको साथमा उभिँदै नेपाल प्रहरीले राहत, उद्धार, खोजी तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
फोटो/समाचार स्रोत : नेपाल प्रहरी प्रधान कार्यालय



प्रतिकृया दिनुहोस्