‘सुरक्षा निकायको काम सराहनीय छ, भारत र चीनबाट उद्धार टोली मगाएर अझै धेरै जीवन जोगाऔँ’: पूर्व डिआईजी खरेल
काठमाडौं, ठाँटी खबर । नेपाल प्रहरीका पूर्वडीआईजी तथा वरिष्ठ समाजसेवी रमेशप्रसाद खरेलले देशमा आइपरेको विपद्को घडीमा उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।
२०७२ सालको विनाशकारी भूकम्पका बेला भरतपुर तालिम केन्द्रमा कार्यरत रहँदा धादिङ, चितवन, गोरखा र मकवानपुरका विकट क्षेत्रमा राहत व्यवस्थापनका लागि खटिएको अनुभव स्मरण गर्दै खरेलले अहिलेको विपद्मा पनि उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ।
उहाँका अनुसार सरकार तथा सुरक्षा निकायले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै आफ्नो क्षमताअनुसार उद्धार तथा राहतमा सराहनीय काम गरिरहेका छन्। विशेषगरी उद्धार टोली तथा हेलिकप्टरमार्फत भइरहेको उद्धार प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले नागरिकको अपेक्षाअनुसार उद्धार कार्यलाई अझ तीव्र, प्रभावकारी र उच्चस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको छ।
समयमै वैदेशिक विज्ञ टोली नबोलाइएको भन्दै नागरिकस्तरबाट आलोचना भइरहेको सन्दर्भमा खरेलले अझै ढिला भइनसकेको बताउनुभएको छ। दक्षिण कोरिया, भारत, चीन र जापानजस्ता मित्रराष्ट्रबाट टनेल तथा अन्य जटिल स्थानमा फसेका नागरिकको उद्धारका लागि दक्ष प्रविधि र विशेषज्ञ टोली तत्काल झिकाई परिचालन गर्न उहाँले सरकार तथा स्थानीय प्रशासनलाई सुझाव दिनुभएको छ।
त्यसैगरी, विपद्का कारण ज्यान गुमाएका व्यक्तिका शव व्यवस्थापनका लागि तीन–चार करोड रुपैयाँको लागतमा अस्थायी शव व्यवस्थापन केन्द्र (मेकसिफ्ट मर्च्युरी), फ्रिजर तथा कन्टेनरको व्यवस्था गर्न सकिने उहाँको भनाइ छ। यस्तो व्यवस्थाले मृतकका परिवारको भावना, संस्कार र रीतिरिवाजको सम्मान गर्न सहयोग पुग्ने खरेलले उल्लेख गर्नुभएको छ।
खरेलले वास्तविक पीडित तथा विपन्न वर्गको पहिचान गरी निष्पक्ष र विवेकपूर्ण ढंगले राहत वितरण गर्नसमेत आग्रह गर्नुभएको छ। विपद्को यस कठिन घडीमा कुनै पनि प्रकारको अवरोध वा अलमल सिर्जना नगरी ‘Together Everyone Achieves More’ अर्थात् ‘सबै मिलेर धेरै हासिल गर्न सकिन्छ’ भन्ने भावनाका साथ एकताबद्ध भएर टिमवर्कमा काम गर्न उहाँले सबै पक्षलाई अपिल गर्नुभएको छ।



प्रतिकृया दिनुहोस्