बाढीपछि ६६९ शव फेला, पहिचान नखुलेका शवको सुरक्षित व्यवस्थापनमा प्रहरी सक्रिय

बाढीपछि ६६९ शव फेला, पहिचान नखुलेका शवको सुरक्षित व्यवस्थापनमा प्रहरी सक्रिय

काठमाडौं, १३ भदौ । हालैका बाढीपहिरो तथा विपद्का घटनापछि विभिन्न जिल्लामा फेला परेका ६ सय ६९ शव तथा शवका अवशेषको व्यवस्थापनमा नेपाल प्रहरीले विशेष सावधानी अपनाएको छ।

नदीकिनार, खोल्सा तथा विभिन्न स्थानबाट फेला परेका बेवारिसे तथा पहिचान नखुलेका शवको संख्या बढ्दै जाँदा स्वास्थ्यमा सङ्क्रमण तथा अन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रहरीले शव संकलनदेखि सुरक्षित व्यवस्थापनसम्मको प्रक्रिया तीव्र बनाएको जनाएको छ।

नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ।

प्रहरीले शव फेला परेपछि आवश्यक लासजाँच मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा शवगृहमा राख्ने गरेको जनाएको छ। फोरेन्सिक चिकित्सकको उपस्थितिमा आवश्यक परीक्षण, पहिचान खुल्न सक्ने गरी विभिन्न कोणबाट फोटो संकलन तथा आवश्यक पोस्टमार्टमसमेत गर्ने व्यवस्था गरिएको छ।

पहिचान खुल्न नसकेका शवलाई पनि भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी अभिलेख सुरक्षित राखिने प्रहरीले जनाएको छ। प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत वा कोड नम्बर दिई फोटो, हुलिया, कपडा, पहिचानजन्य चिन्ह तथा शवसँग भेटिएका सामग्रीको विवरण राख्ने र आवश्यकताअनुसार DNA नमुना सुरक्षित गर्ने प्रक्रिया अपनाइएको छ।

चितवनमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शवको व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ। अन्य प्रभावित जिल्लामा पनि सम्बन्धित जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शव व्यवस्थापन भइरहेको प्रहरीले जनाएको छ।

निर्देशिकाअनुसार जमिनमुनि व्यवस्थापन गर्नुपर्ने शवलाई समेत सम्मानजनक र सुरक्षित रूपमा व्यवस्थापन गरी प्रत्येक शवको कोड नम्बर, GPS Location, फोटो, नक्सा तथा अन्य विवरण अभिलेखमा राखिने व्यवस्था गरिएको छ।

प्रहरीका अनुसार भविष्यमा कुनै परिवार वा आफन्तले बेपत्ता सदस्य आफ्नो भएको दाबी गरेमा सुरक्षित राखिएका DNA नमुना, फोटो, पोस्टमार्टम रिपोर्ट, हुलिया तथा अन्य कानुनी एवं वैज्ञानिक प्रमाणका आधारमा पहिचान गर्न सहयोग पुग्नेछ।

नेपाल प्रहरीले पहिचान नखुलेका शवको विवरण आफ्नो आधिकारिक वेबसाइटमा समेत सार्वजनिक गरेको जनाएको छ। सम्भावित रूपमा आफ्ना आफन्त बेपत्ता भएको आशंका भएका व्यक्तिले उपलब्ध विवरण हेरी सम्बन्धित निकायको Help Desk मा सम्पर्क गर्न सक्नेछन्।

विपद्पछिको उद्धारसँगै शवको सुरक्षित व्यवस्थापन र हराएका आफन्तको पहिचान सुनिश्चित गर्ने कामलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ।

Photo: Nepal Police Headquarter