विपद्को बेला राहतका नाममा साइबर ठगीको जोखिम, नेपाल प्रहरीको यस्तो अपिल
काठमाडौँ, ११ भदौ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि उद्धार तथा राहत अभियान जारी छ। यही संवेदनशील अवस्थालाई लक्षित गर्दै ठगी गर्ने समूह सक्रिय हुन सक्ने भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई राहत सहयोगका नाममा हुने सम्भावित साइबर स्क्यामबाट सचेत रहन आग्रह गरेको छ।
नेपाल प्रहरीले विपद्को समयमा नागरिकबाट प्राप्त हुने सहयोग रकमलाई दुरुपयोग गर्ने उद्देश्यले सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत विभिन्न प्रकारका फर्जी अभियान सञ्चालन हुन सक्ने जनाएको छ।
प्रहरीका अनुसार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा पैसा माग्ने, आधिकारिक निकायको नाम तथा लोगो नक्कल गरेर फर्जी क्यूआर कोड बनाउने र सामाजिक सञ्जालमार्फत प्रचार गर्ने जस्ता गतिविधि हुन सक्छन्।
त्यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम तथा भाइबरलगायतका सामाजिक सञ्जालमा ‘राहत कोष’ वा ‘सहयोग अभियान’का नाममा नक्कली पेज तथा समूह बनाएर रकम संकलन गर्न सक्ने भन्दै प्रहरीले सावधानी अपनाउन अनुरोध गरेको छ।
‘राहत सहयोग दर्ता’ वा अन्य बहानामा फोन गरेर व्यक्तिगत विवरण तथा बैंकिङ जानकारी माग्ने, फिसिङ लिंक पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने र अपरिचित नम्बरबाट ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनु’ भन्दै आर्थिक सहयोग माग्ने घटनाप्रति समेत सचेत रहन प्रहरीले आग्रह गरेको छ।
पैसा पठाउनुअघि यी कुरा जाँच गर्नुहोस्
नेपाल प्रहरीले कुनै पनि राहत सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेजबाट मात्र पुष्टि गर्न आग्रह गरेको छ।
अपरिचित व्यक्ति वा पेजबाट प्राप्त हुने क्यूआर कोड, लिंक वा बैंक खाता नम्बरमा तत्काल विश्वास नगर्न तथा कसैले फोन वा म्यासेजमार्फत बैंक खाता, कार्ड विवरण, पिन वा ओटीपी मागेमा कुनै पनि अवस्थामा उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ।
अपरिचित व्यक्तिले राहत वा सहयोगका नाममा रकम मागेमा पैसा पठाउनुअघि सम्भव भएसम्म भिडियो कल वा प्रत्यक्ष फोन सम्पर्कमार्फत पहिचान तथा आवश्यकताको पुष्टि गर्न समेत प्रहरीले सुझाव दिएको छ।
शंका लागे तत्काल प्रहरीलाई खबर गर्न आग्रह
विपद् राहतका नाममा कुनै व्यक्ति वा समूहले साइबर ठगी गरेको वा ठगी गर्ने प्रयास गरेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको साइबर ब्यूरोमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।
विपद्को समयमा सहयोग गर्नु मानवीय दायित्व हो, तर सहयोग गर्ने क्रममा आफ्नो पैसा र व्यक्तिगत डिजिटल सुरक्षालाई पनि उत्तिकै ध्यान दिऔँ। ‘पहिले पुष्टि, त्यसपछि मात्र सहयोग’ गर्ने बानी बसालौँ।



प्रतिकृया दिनुहोस्