देशभरबाट साइबर अपराधसम्बन्धी २० हजार ५२६ उजुरी, सामाजिक सञ्जाल दुरुपयोगमा चिन्ताजनक वृद्धि

देशभरबाट साइबर अपराधसम्बन्धी २० हजार ५२६ उजुरी, सामाजिक सञ्जाल दुरुपयोगमा चिन्ताजनक वृद्धि

काठमाडौं, नेपालमा साइबर अपराधका घटना पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएका छन्। गत आर्थिक वर्ष २०८२/०८३ मा मात्रै साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्।

साइबर अपराधमा संलग्न व्यक्तिमाथि कारबाही गर्ने क्रममा काठमाडौं कपनमा बस्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल असार २६ गते पक्राउ परेका थिए। उनीमाथि इमेलमार्फत अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गरेको आरोप छ।

त्यस्तै, काठमाडौं बालाजु बस्ने नुवाकोटका १९ वर्षीय विवेक सुनार असार २४ गते पक्राउ परेका थिए। उनीमाथि फेसबुक ह्याक गरी अनधिकृत पहुँच बनाएर ठगी गरेको आरोप छ। रौतहट घर भएका २२ वर्षीय शुभम साहलाई भने आफू ई–सेवाको कर्मचारी भएको भन्दै ठगी गरेको आरोपमा असार २ गते पक्राउ गरिएको थियो।

यी घटना प्रतिनिधिमूलक मात्रै हुन्। सामाजिक सञ्जालको दुरुपयोग गरी ब्ल्याकमेलिङ, अनलाइन ठगी, स्क्यामिङ, ह्याकिङ तथा सफ्टवेयर कम्पनीको स्रोत संकेत (Source Code) मा अनधिकृत पहुँच पुर्‍याउनेजस्ता विद्युतीय कसुरमा संलग्नलाई साइबर ब्यूरोले अनुसन्धान गरी कानुनी दायरामा ल्याउँदै आएको छ।

फेसबुक र टिकटकमा सबैभन्दा बढी उजुरी

साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका निवेदनमध्ये फेसबुक/म्यासेन्जर दुरुपयोगका ७ हजार १२३टिकटकसम्बन्धी ६ हजार ७७६ वटा उजुरी छन्।

त्यस्तै, ह्वाट्सएपका ३ हजार १०५, टेलिग्रामका १ हजार ३१, इन्स्टाग्रामका ६२८, इमेलका ११४, युट्युबका ६४, इमोका ३८ र भाइबरका २१ वटा उजुरी दर्ता भएका छन्।

इसेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ठगीका ७४४ र संस्थासँग सम्बन्धित ८४६ वटा निवेदन दर्ता भएका छन्।

गत आर्थिक वर्ष २०८१/०८२ मा १८ हजार ९२६ र आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका थिए। यसरी हेर्दा पछिल्लो आर्थिक वर्षमा उजुरीको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ।

बैंक तथा वालेटको नाममा ठगी बढ्दो

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरुपयोग पनि बढिरहेको छ।

विशेषगरी बैंक तथा वालेट कार्यालयबाट बोलेको भन्दै पीडितको बैंक खातामा पहुँच पुर्‍याएर ठगी गर्ने, गिफ्ट, लोट्री तथा पार्सल पठाउने बहानामा पैसा असुल्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने, वैदेशिक रोजगारीको प्रलोभन देखाउने तथा टेलिग्राम, ह्वाट्सएप र इन्स्टाग्राममा अनलाइन जबको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति बढेको ब्यूरोले जनाएको छ।

त्यसैगरी अनलाइन सपिङको नाममा रकम लिएर सामान नपठाउने तथा विभिन्न डिजिटल माध्यमबाट ठगी गर्ने घटनासमेत बढ्दै गएको प्रहरीको भनाइ छ।

१६१ मुद्दा दर्ता, १५५ जना पक्राउ

गत आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी १६१ वटा मुद्दा दर्ता भएका छन् भने १५५ जना पक्राउ परेका छन्।

प्रविधिको तीव्र विकाससँगै साइबर अपराधका शैली र प्रवृत्तिमा समेत परिवर्तन आउँदा अनुसन्धान थप चुनौतीपूर्ण बन्दै गएको प्रहरीको भनाइ छ। यस्ता चुनौती सामना गर्न नेपाल सरकारले २०७५ जेठ २७ गतेको निर्णयबाट साइबर ब्यूरो स्थापना गरेको हो।

साइबर ब्यूरोले प्रविधिको प्रयोग गरी हुने अपराध नियन्त्रण तथा अनुसन्धानसँगै प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि र आम नागरिकमा साइबर सुरक्षा सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

साइबर अपराधमा संलग्न व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कानुनी कारबाही हुने गरेको छ।

साइबर अपराधबाट जोगिन अपरिचित लिंकमा क्लिक नगर्ने, ओटीपी/पासवर्ड कसैलाई नदिने, सामाजिक सञ्जालका गोपनीयता सेटिङ सुरक्षित राख्ने र अनलाइन कारोबार गर्दा आधिकारिक माध्यम मात्र प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।