“आजको मौन, भोलिको फैसला” – रविन पंगेनी

“आजको मौन, भोलिको फैसला” – रविन पंगेनी

कुरा समय आएपछि खोल्नु पर्छ
सबै कुरा अहिले नै खोल्नु हुँदैन
केही सत्यहरू समयको काखमा हुर्किनु पर्छ,
बीउ झैँ—
माटो चिर्ने हतार गरे
अङ्कुर होइन, घाउ मात्र निस्कन्छ।
मौन पनि भाषा हो
जसले इतिहास लेख्छ
र प्रतीक्षाले नै प्रमाण दिन्छ
को सही थियो, को क्षणिक हल्ला मात्र।
आजको हाँसो भोलि प्रश्न बन्छ,
आजको आँसु भोलि साक्षी,
वर्तमान ईतिहास बन्न बेर लाग्दैन
घडीको काँटा घुम्नासाथ
निर्णयहरू किताबमा बदलिन्छन्।
सबै सत्य चिच्याएर बोल्दैनन्,
केही सत्यहरू
शान्त भएर समय कुर्छन्,
किनकि समय नै
सबैभन्दा निष्पक्ष न्यायाधीश हो।
आज दोष लगाउनेहरूको भीड छ,
आज व्याख्याकारहरूको बजार छ,
तर समय आएपछि
त्यही भीड मौन हुन्छ
र मौनताले नै फैसला सुनाउँछ।
जुन कुरा आज अपूरो देखिन्छ
भोलि पूर्ण अर्थ पाउँछ,
जुन आज भ्रम लाग्छ
भोलि दृष्टान्त बन्छ।
कुनै कर्म तत्काल फूल्दैन,
कुनै पाप तुरुन्तै सड्दैन,
सबैको घडी
आफ्नै समयमा बज्छ
यही हो समयको नियम।
त्यसैले
सबै ढोका एकैपटक नखोल,
सबै कथा आजै नबोल,
केही कुरा
समयले नै खोलिदिन देऊ।
किनकि
वर्तमान ईतिहास बन्न बेर लाग्दैन,
र ईतिहास
कहिल्यै हतारको पक्ष लिँदैन।
आज धैर्य राख्नेहरू
भोलि अध्याय बन्छन्,
आज हतार गर्नेहरू
भोलि फुटनोटमै सीमित हुन्छन्।
समय आउँछ—
जब शब्दहरू आफैँ प्रमाण हुन्छन्,
मौनहरू आफैँ सन्देश,
र सत्य
कुनै परिचय बिना
सामुन्ने उभिन्छ।
त्यस दिन
कुनै स्पष्टीकरण आवश्यक हुँदैन,
किनकि
सबै कुरा
समय आएपछि
आफैँ खुलिसकेको हुन्छ।


✍🏻✍🏻 रविन पंगेनी