बालबालिकाको प्रतिभा चिन्ने र अवसर दिने थलो : पिस पोइन्ट एकेडेमीको २२ वर्षे यात्रा
ललितपुरको ‘पिस पोइन्ट एकेडेमी’ : अडिट फिल्ड र वैदेशिक अनुभवदेखि १०० प्रतिशत एसईई सफलतासम्मको प्रेरणादायी यात्रा
विशेष रिपोर्ट — ठाँटी खबर || काठमाडौँ। ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा रहेको पिस पोइन्ट एकेडेमीले स्थापनाको २२औँ वर्ष प्रवेशसँगै गुणस्तरीय, संस्कारयुक्त र पहुँचयोग्य शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ।
वि.सं. २०६२ साल चैत २२ गते औपचारिक अनुमति लिएर मन्टेसोरीबाट शैक्षिक यात्रा सुरु गरेको यस विद्यालयले २०६४ सालदेखि कक्षा १ सञ्चालन गर्दै हाल मन्टेसोरीदेखि कक्षा १० सम्मको पठनपाठन सञ्चालन गर्दै आएको छ।
सन् २०२१ मा कक्षा १० सम्मको सम्बन्धन/अनुमति प्राप्त गरेको विद्यालयले हालसम्म १२औँ ब्याचसम्म एसईई परीक्षामा १०० प्रतिशत उत्तीर्ण नतिजा हासिल गरेको जनाएको छ। यससँगै विद्यालयले आफूलाई क्षेत्रकै एक स्थापित र विश्वासिलो शैक्षिक संस्थाका रूपमा परिचित गराएको छ।
अडिट फिल्डदेखि अमेरिकाको अनुभवसम्म
विद्यालयका संस्थापक तथा सञ्चालक शम्भु अधिकारी, जो हाल नेसनल प्याब्सन (National PABSON) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ, उहाँको शिक्षा क्षेत्रमा प्रवेशको यात्रा संघर्ष र अनुभवले भरिएको छ।
सुरुमा शाही शिक्षा सदनमा लेखा तथा अडिट व्यवस्थापनको काम गर्दै गर्दा अधिकारीमा आफ्नै विद्यालय स्थापना गरी समाजसेवा गर्नुका साथै रोजगारी सिर्जना गर्ने सोच विकसित भएको थियो।
उहाँले केही साथीहरूसँग मिलेर पब्लिक लिमिटेड मोडलमा डल्लुमा विद्यालय सञ्चालन गर्ने योजना बनाउनुभयो। करिब ८० लाख रुपैयाँको बजेटसहित जग्गाका लागि बैना गरे पनि घरबेटी तथा स्थानीय परिस्थितिका कारण उक्त योजना सफल हुन सकेन र बैना रकमसमेत डुब्यो।
त्यसपछि उहाँले सिनामङ्गलमा रहेको ‘पिस पोइन्ट स्कुल’ खरिद गरी तीन वर्ष सञ्चालन गर्नुभयो।
वि.सं. २०६० को दशकमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला साना विद्यालयहरूले विभिन्न समस्या भोग्नुपरेको र लामो समयसम्म विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको अधिकारीको भनाइ छ। त्यससँगै राज्यको अपेक्षित सहयोग नपाएको महसुस भएपछि उहाँ अमेरिका पुग्नुभयो।
अमेरिकामा करिब चार महिना बस्दा त्यहाँको काम, परिश्रम र जीवनशैली नजिकबाट नियालेपछि उहाँले नेपालमै फर्किएर केही गर्ने निर्णय गर्नुभयो।
उहाँको भनाइमा, “यति धेरै दुःख नेपालमै गर्ने हो भने त आफैँ धनी भइन्छ, अरूलाई धनी बनाउन किन विदेश बस्ने?”
त्यसपछि नेपाल फर्किनुभएका अधिकारीले पहिले नै दर्ता भएर सानो रूपमा सञ्चालनमा रहेको ‘पिस पोइन्ट मन्टेसोरी एकेडेमी’लाई जिम्मेवारीपूर्वक सम्हाल्दै विद्यालयलाई पुनः संरचना गर्नुभयो।
२०७६ सालमा निर्णय गरी २०७७ सालसम्म कक्षा ११ (कानुन संकाय) सम्मको पठनपाठन सञ्चालन गरेर एक ब्याच कानुनका विद्यार्थी उत्पादन गरिएको उहाँले बताउनुभयो। तर कोभिड–१९ महामारीका कारण कक्षा ११ र १२ को कार्यक्रम स्थगित गर्दै विद्यालयले कक्षा १० सम्मको शिक्षालाई प्राथमिकतामा राखेको छ।
व्यापारभन्दा संस्कार र ‘चिल्ड्रेन फर्स्ट’ दर्शन
हाल विद्यालयमा ३२३ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ। विद्यालय अधिकारी परिवार—शम्भु अधिकारी, उहाँकी धर्मपत्नी र दुई छोराहरू—को लगानी तथा श्रममा आधारित पारिवारिक व्यवसाय (Family Business) का रूपमा सञ्चालन हुँदै आएको छ।
निजी विद्यालयको शुल्कलाई लिएर विभिन्न किसिमका बहस भइरहेका बेला पिस पोइन्ट एकेडेमीले भने सीमित र व्यावहारिक शुल्कमा आधुनिक शैक्षिक सुविधा उपलब्ध गराउने प्रयास गरेको अधिकारीको भनाइ छ।
अधिकारीका अनुसार विद्यालयको उद्देश्य ठूलो व्यापारिक घराना निर्माण गर्नु नभई सामान्य आर्थिक अवस्था भएका अभिभावकका बालबालिकालाई समेत गुणस्तरीय शिक्षा उपलब्ध गराउनु हो।
उहाँ भन्नुहुन्छ, “हामीले विशाल व्यापारिक घराना बनाएर अत्यधिक शुल्क असुल्ने सोच कहिल्यै राखेनौँ। काठमाडौँमा सामान्य मजदुरी वा जागिर गर्ने अभिभावकले पनि आफ्ना बालबालिकालाई क्षमतावान् बनाउन सकून् भन्ने उद्देश्यले मासिक करिब ५ हजार रुपैयाँको हाराहारीमा सर्वसुलभ शुल्क निर्धारण गरेका छौँ।”
विद्यालयले प्रविधि, अतिरिक्त क्रियाकलाप तथा खेलकुदलाई पनि प्राथमिकता दिएको छ।
- डिजिटल कक्षाकोठा: कक्षा ४ देखि १० सम्म स्मार्ट बोर्ड तथा नर्सरीदेखि कक्षा ३ सम्म स्मार्ट टिभीमार्फत अध्यापन गराइन्छ।
- मिनी फुटसल तथा इन्डोर खेल: विद्यालयका दुईवटा आधुनिक भवनमा बालबालिकाका लागि दुईवटा मिनी फुटसल मैदान निर्माण गरिएको छ।
- अतिरिक्त क्रियाकलाप: योग, सङ्गीत, नृत्य, चित्रकला तथा मार्सल आर्टका कक्षाहरू नियमित सञ्चालन हुन्छन्।
- चेस तथा बौद्धिक खेल: हालै महालक्ष्मी नगरपालिकास्तरीय जुनियर चेस प्रतियोगितामा विद्यालयका विद्यार्थीले तेस्रो स्थान हासिल गरेको विद्यालयले जनाएको छ।
बालबालिकाको हितलाई प्राथमिकतामा राख्दै विद्यालयले ३ किलोमिटरभन्दा टाढाबाट विद्यार्थी नल्याउने नीतिअवलम्बन गरेको छ।
विद्यालयका अनुसार लामो दूरीको दैनिक यात्राले बालबालिकालाई शारीरिक तथा मानसिक रूपमा थकित बनाउन सक्ने भएकाले स्थानीय क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको हो।
बालबालिकाले खेल्ने, अध्ययन गर्ने र परिवारसँग समय बिताउने पर्याप्त अवसर पाउनुपर्ने मान्यताका आधारमा यस्तो नीति लिइएको विद्यालयको भनाइ छ।
अभिभावकको व्यस्तताका कारण बालबालिका घरमा एक्लै नहुन् भन्ने उद्देश्यले कक्षा ६, ७ र ८ का विद्यार्थीका लागि बिदाका दिन बिहान अतिरिक्त कक्षा तथा परीक्षासमेत सञ्चालन गर्ने व्यवस्था रहेको बताइएको छ।
‘स्कुल ब्रान्ड होइन, बालबालिका ब्रान्ड हुन्’
“हामी स्कुललाई ब्रान्ड भन्दैनौँ, हाम्रा बालबालिका आफैँमा ब्रान्ड हुन्,” भन्ने मान्यता राख्ने विद्यालयले आफ्ना पूर्वविद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित भएको जनाएको छ।
विद्यालयका संस्थापक शम्भु अधिकारीका जेठा छोरा सञ्जय अधिकारी अधिवक्ता तथा सम्पदा एवं पर्यावरण अभियन्ताका रूपमा सक्रिय हुनुहुन्छ। उहाँले रानीपोखरी, निजगढ विमानस्थललगायतका विषयमा अभियान तथा नेतृत्वदायी भूमिका निर्वाह गरेको विद्यालयको भनाइ छ। उहाँ ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’बाट समेत पुरस्कृत भएको बताइएको छ।
अधिकारीका कान्छा छोरा इन्जिनियरिङमा स्नातकोत्तर (ME) अध्ययनरत हुनुहुन्छ।
विद्यालयका अनुसार यहाँबाट अध्ययन गरेका विद्यार्थीहरू इन्जिनियरिङ, चिकित्सा, नर्सिङ, कानुन तथा विभिन्न प्राविधिक क्षेत्रमा स्थापित भएका छन्। बी प्लस (B+) जस्ता नतिजा हासिल गरेका विद्यार्थीहरूले समेत प्रतिष्ठित कलेजहरूमा उत्कृष्ट प्रदर्शन गरेका उदाहरण रहेको विद्यालयले जनाएको छ।
विद्यालयको दाबीअनुसार यहाँ अध्ययन गरेका ९० प्रतिशतभन्दा बढी विद्यार्थी विदेश पलायन हुनुको सट्टा स्वदेशमै उद्यम तथा विभिन्न पेसामा आबद्ध भएका छन्।
२२ वर्षको शैक्षिक अनुभव, प्रविधिमैत्री पूर्वाधार, पारिवारिक तथा अनुशासित वातावरण, अतिरिक्त क्रियाकलाप, खेलकुद र एसईईमा १०० प्रतिशत उत्तीर्ण नतिजा हासिल गरेको दाबीका कारण पिस पोइन्ट एकेडेमीले इमाडोल तथा आसपासका क्षेत्रका अभिभावकबीच आफ्नो पहिचान बनाएको देखिन्छ।
सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित अघि बढेको विद्यालयले आगामी दिनमा पनि बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि अघि बढाउने जनाएको छ।



प्रतिकृया दिनुहोस्