धरौटीको विषयमा ECAN को स्पष्ट अडान : ‘शिक्षा परामर्श क्षेत्रमा यस्तो व्यवस्था आवश्यक छैन’

धरौटीको विषयमा ECAN को स्पष्ट अडान : ‘शिक्षा परामर्श क्षेत्रमा यस्तो व्यवस्था आवश्यक छैन’

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा परामर्श व्यवसायमा धरौटीको व्यवस्था आवश्यक नरहेको भन्दै आफ्नो संस्थागत धारणा पुनः स्पष्ट गरेको छ।

ECAN ले जारी गरेको वक्तव्यमा स्थापना कालदेखि हालसम्म शिक्षा परामर्श व्यवसायमा धरौटीको व्यवस्था हुनुपर्छ भन्ने कुनै संस्थागत निर्णय, आधिकारिक धारणा वा नेतृत्व तहबाट प्रस्ताव नगरिएको उल्लेख गरेको छ। संघले आफ्नो अडान विगतदेखि नै स्पष्ट रहेको र भविष्यमा पनि यथावत् रहने जनाएको छ।

यदि विगतमा ECAN ले धरौटीसम्बन्धी प्रस्ताव वा धारणा अघि सारेको भन्ने दाबी गरिएको भए सम्बन्धित व्यक्ति, मिति र प्रमाणसहित सार्वजनिक गर्न पनि संघले आग्रह गरेको छ। प्रमाणविना गरिने दाबीलाई तथ्यका रूपमा स्थापित गर्न खोज्नु उचित नहुने ECAN को भनाइ छ।

संघले शिक्षा परामर्श क्षेत्रभित्र अनावश्यक भ्रम, विभाजन वा अविश्वास सिर्जना हुने अभिव्यक्तिबाट सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएको छ। शिक्षा परामर्श क्षेत्रको एकता र सहकार्यलाई कमजोर पार्ने खालका टिप्पणी वा भाष्यबाट बच्नुपर्ने अपेक्षा पनि ECAN ले व्यक्त गरेको छ।