मादी नगरपालिका, संखुवासभामा विश्व क्षयरोग दिवसको अवसरमा प्रभातफेरी तथा जनचेतनामूलक र्याली सम्पन्न
संखुवासभा, — ठाँटी खबर स्वास्थ्य संवाददाता, वातावरण अर्याल || विश्व क्षयरोग दिवसको अवसरमा मादी नगरपालिका, संखुवासभा अन्तर्गत ओखरबोटे क्षेत्रमा प्रभातफेरी तथा जनचेतनामूलक र्याली कार्यक्रम सम्पन्न भएको छ।मादी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मादी अस्पताल, स्वास्थ्यकर्मी (डाक्टर, नर्स तथा प्यारामेडिक्स), स्थानीय जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, महिला स्वास्थ्य स्वयंसेविका (FCHV) तथा समुदायका सर्वसाधारणको उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो।
र्यालीमार्फत क्षयरोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। सहभागीहरूले “क्षयरोग मुक्त मादी – हाम्रो प्रतिबद्धता” तथा “हो, हामी क्षयरोग अन्त्य गर्छौं – राष्ट्रिय अभियानमा हाम्रो योगदान!” जस्ता नाराहरू लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए।कार्यक्रमका क्रममा अडियो सन्देश, पम्प्लेट वितरण तथा विभिन्न सचेतनामूलक नारामार्फत क्षयरोगको लक्षण, समयमै परीक्षण तथा पूर्ण उपचारको महत्वबारे जानकारी दिइएको थियो। लामो समयसम्म खोकी लागेमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै मादी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले क्षयरोग नियन्त्रण तथा अन्त्यका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै आगामी दिनहरूमा यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले क्षयरोग अन्त्य केवल स्वास्थ्य संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको उल्लेख गर्दै नागरिकहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो।
यसैगरी, जनस्वास्थ्य अधिकृत वातावरण अर्यालले क्षयरोग हाल पनि एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको उल्लेख गर्दै यसको समयमै पहिचान र उपचारलाई थप प्रभावकारी बनाउन आगामी दिनहरूमा AI आधारित डिजिटल एक्स-रे मार्फत स्क्रिनिङ तथा क्षयरोग खोजतलास सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले क्षयरोग बिरामीप्रति हुने भेदभाव अन्त्य गर्न, सचेतना अभिवृद्धि गर्न तथा परीक्षण र उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्न सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।नगरपालिकाले यस्ता कार्यक्रमहरूले “क्षयरोग मुक्त मादी” निर्माणतर्फ महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै भविष्यमा थप प्रभावकारी अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
फोटो – वातावरण अर्याल







प्रतिकृया दिनुहोस्