धुवाँ–खरानी र निषेध चिर्दै एमालेको जनलहर उर्लियो : ओली “महाधिवेशनको भीड सागरको एक थोपा मात्र हो”

धुवाँ–खरानी र निषेध चिर्दै एमालेको जनलहर उर्लियो : ओली  “महाधिवेशनको भीड सागरको एक थोपा मात्र हो”

काठमाडौँ, मंसिर २७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै अवरोध, निषेध र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको दाबी गर्नुभएको छ। शनिबार भक्तपुरमा सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनमा देखिएको विशाल जनसहभागिता केवल झलक मात्र भएको बताउनुभयो।

“आज यहाँ देखिएको भीड सागरको एक थोपा मात्रै हो,” ओलीको स्पष्ट सन्देश।
“लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ।”

उहाँले महाधिवेशनमा उपस्थित मानिसहरू मात्र एमाले हुन् भन्ने भ्रम नराख्न चेतावनी दिँदै यो उपस्थिति लोकतन्त्र र एमालेप्रतिको गहिरो जनविश्वासको प्रमाण भएको उल्लेख गर्नुभयो।

ओलीले देशलाई समृद्ध र सुखी बनाउने स्पष्ट गन्तव्यसहित एमाले अघि बढिरहेको बताउँदै लोकतन्त्र, सुशासन र विकास चाहने सम्पूर्ण शक्तिहरू एमालेसँग एकताबद्ध हुँदै गएको दाबी गर्नुभयो।

“कम्युनिष्ट पार्टी जति बलियो हुन्छ, राष्ट्रियता त्यति नै बलियो हुन्छ,”
आठ दशकको यात्रामा नेपाली कम्युनिष्ट आन्दोलनले ऐतिहासिक मानक स्थापना गरेको उहाँको भनाइ थियो।

सामाजिक न्याय, समावेशिता र जनमुखी विकासको अगुवाइ एमालेले नै गरेको दाबी गर्दै ओलीले एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणको अभियन्ता भएको स्पष्ट पार्नुभयो। गाउँमुखी विकासदेखि ठूला राष्ट्रिय परियोजनासम्म एमाले नै आशा र सपना बोकेको पार्टी भएको उहाँको दाबी थियो।

“एमाले केवल पार्टी होइन, सपना देख्ने र साकार पार्ने शक्ति हो।”