एमाले महाधिवेशनमा रामेछापको शक्ति प्रदर्शन! ठिमीमा भव्य जुलुसको तयारी
भक्तपुर, मंसिर २६ — नेकपा (एमाले) रामेछापले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई ऐतिहासिक बनाउने लक्ष्यसहित नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूलाई ठिमीमा एकजुट हुन आह्वान गरेको छ।
एमाले रामेछापद्वारा जारी सूचनाअनुसार, रामेछापबाट सहभागी हुने सबै नेता तथा कार्यकर्ताहरूलाई भक्तपुरको ठिमीस्थित एसएस चोकमा बिहान ११ बजे अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ। सोही स्थानबाट भव्य जुलुससहित महाधिवेशन उद्घाटन समारोहमा सहभागिताजनाइने पार्टी अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिनुभयो।
माइकिङ गाडी अगाडि, सांस्कृतिक टोली पछाडि — जुलुसमा विशेष तयारी
जुलुसलाई आकर्षक र व्यवस्थित बनाउन अगाडि माइकिङ गाडी, त्यसपछि प्रचार टोली रहनेछ। जुलुसमा ब्यानर, पञ्चेबाजा, डम्फु र तामाङ सेलोले माहोल झन् उत्सवमय बनाउने तयारी छ।
स्थानीय तह र समुदायको भव्य प्रस्तुति
जुलुसमा लिखुतामाकोशी गाउँपालिकाको अग्रणी सहभागितासँगै माझी समुदायको झाँकी, सुनुवार समुदायको झाँकी, तथा मन्थली नगरपालिकाको संगठित उपस्थिति रहनेछ। यसका साथै सुनापति, उमाकुण्ड, गोकुलगंगा, रामेछाप नगरपालिका, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाबाट समेत ठूलो संख्यामा नेता–कार्यकर्ताको सहभागिता रहने एमाले रामेछापले जनाएको छ।
एकता, पहिचान र संगठनात्मक शक्ति प्रदर्शन
अध्यक्ष कडरियाका अनुसार विविध सांस्कृतिक झाँकी र स्थानीय तहहरूको सहभागिताले जुलुसलाई पहिचानसहितको, अनुशासित र शक्तिशाली बनाउनेछ। यसमार्फत पार्टीको एकता, संगठनात्मक बल र स्थानीय विविधता महाधिवेशन उद्घाटन समारोहमा सशक्त रूपमा प्रस्तुत गरिनेछ।
एमाले रामेछापले सबै सहभागीलाई समयमै उपस्थित भई मर्यादित र अनुशासित रूपमा कार्यक्रम सफल बनाउन आह्वान गरेको छ।
ठिमीमा देखिनेछ रामेछापको शक्ति, संस्कृति र संगठन!



प्रतिकृया दिनुहोस्