बीपी राजमार्ग एमालेमय! करिब ३ हजार सवारीसाधनसहित ३० हजार कार्यकर्ता काठमाडौं प्रवेश

बीपी राजमार्ग एमालेमय! करिब ३ हजार सवारीसाधनसहित ३० हजार कार्यकर्ता काठमाडौं प्रवेश

काठमाडौं, मंसिर २७ — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई ऐतिहासिक बनाउँदै पूर्वी नेपालबाट झण्डा–ब्यानरले सजिएका करिब ३ हजार सवारी साधन राजधानी काठमाडौं भित्रिएका छन्।

बीपी मार्ग हुँदै सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, खोटाङ, सोलुखुम्बु, महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत जिल्लाबाट नेता, कार्यकर्ता र समर्थकहरूको जनसागर काठमाडौं उर्लिएको हो।

🚌 बस, 🚐 मिनिबस, 🚙 जिप, 🚗 कार र भ्यान—सबैमा एमालेका झण्डा फहराउँदै राजधानी प्रवेश गर्दा बीपी राजमार्ग नै एमालेमय बनेको देखिएको छ।

सिन्धुलीको खुर्कोट र नेपालथोक ट्राफिक चेकपोइन्टका अनुसार करिब ३० हजारको हाराहारीमा मानिसहरू महाधिवेशनमा सहभागी हुन काठमाडौं पुगेका छन्। मंसिर २६ गते साँझदेखि नै झण्डा–ब्यानरसहितका सवारी साधनहरूको लामो लर्को बीपी राजमार्गमा देखिन थालेको ट्राफिक प्रहरीले जनाएको छ।

यसैबीच, बाढी–पहिरोले क्षतिग्रस्त रोशी खोला क्षेत्रको डाइभर्सन सडक प्रयोग गर्नुपर्दा केही स्थानमा सवारी जाम भए पनि ट्राफिक प्रहरीले निरन्तर व्यवस्थापन गरेर आवागमन सहज बनाइरहेको छ।

राजधानी छिर्ने पूर्वी नाकामा देखिएको यो दृश्यले एमाले महाधिवेशनप्रति कार्यकर्ता र समर्थकको उत्साह, एकता र शक्ति प्रदर्शन स्पष्ट रूपमा झल्काएको छ।