“युके पठाइदिन्छु” भन्दै ६ लाखभन्दा बढी ठगी गर्ने महिला पक्राउ

“युके पठाइदिन्छु” भन्दै ६ लाखभन्दा बढी ठगी गर्ने महिला पक्राउ

विदेश जाने सपनामा ठगीको जालो 

काठमाडौं, २० कात्तिक | नेपाल न्युज अपडेट

“युके पठाइदिन्छु, राम्रो जागिर पक्का!” भन्दै ६ लाख ७२ हजार रुपैयाँ ठगी गर्ने कुमारी तामाङ (३५) अन्ततः प्रहरीको फन्दामा परेकी छन्।

काठमाडौँ महानगरपालिका–१६ बस्ने र नुवाकोट तार्केश्वर गाउँपालिका–१ घर भएकी तामाङले दुई जनालाई विदेश रोजगारको आकर्षक अफरदेखाएर रकम लिई सम्पर्कविहीन भएकी थिइन्।

पीडितले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई महानगरपालिका–१२ क्षेत्रबाट पक्राउ गरेको हो।


प्रहरीको भनाइ

प्रहरीका अनुसार तामाङले युके पठाइदिन्छु भन्दै ठगी गरेको प्रमाण खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
हाल उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ र थप अनुसन्धान भइरहेको छ।


ठगीको नयाँ ट्रेन्ड!

विदेश पठाइदिने नाममा यस्तो ठगीका घटनाहरू पछिल्ला महिनाहरूमा तीव्र रूपमा बढ्दै गएका छन्।
विशेषगरी युवा वर्गलाई वैदेशिक रोजगारी र आकर्षक तलबको प्रलोभन देखाएर रकम असुल्ने गिरोह सक्रिय छन्।

 “पहिले अनुमति, पछि रकम!
 वैदेशिक रोजगारीका अफरहरू सरकारी अनुमति प्राप्त एजेन्टबाट मात्र स्वीकार गरौं।
 शंकास्पद अफर आए तुरुन्तै प्रहरी वा श्रम कार्यालयमा जानकारी गराऔं।