युके, क्यानडादेखि सिंगापुर पठाउने नाममा करोडौँ ठग्ने ५ ठगीका नाइके काठमाडौंबाट पक्राउ
काठमाडौं, १७ कात्तिक । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशहरूमा आकर्षक तलबको प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बस्ने २० वर्षीया आशिका सिम्खडा, उदयपुर घर भई काठमाडौं-३२ बस्ने ४६ वर्षीय बिष्णु खत्री, सिन्धुली घर भई काठमाडौं-१ बस्ने ३५ वर्षीय दिनेश पाख्रेन तामाङ, गोरखा घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने ३८ वर्षीय राजेश बराम र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४८ वर्षीय छिरिङ शेर्पा रहेका छन्।
पक्राउ परेकामध्ये आशिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, बिष्णुले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र दिनेशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ ठगी गरेका थिए। त्यसैगरी राजेशले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ५० हजार रूपैयाँ र छिरिङले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ४० हजार रूपैयाँ लिई रकम असुल गरेर सम्पर्कविहीन भएका थिए।
पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले आशिकालाई काठमाडौं-१६ बाट बिहीबार, बिष्णुलाई काठमाडौं-३२ र दिनेशलाई काठमाडौं-१२ बाट शुक्रबार, राजेशलाई काठमाडौं-६ बाट शनिबार तथा छिरिङलाई काठमाडौं गोकर्णेश्वर-३ बाट आइतबार नियन्त्रणमा लिएको हो।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुन बमोजिम थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको जानकारी नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।



प्रतिकृया दिनुहोस्