विपद्को मौका छोपी अपराध बढ्न नदिन नेपाल प्रहरीको निगरानी तीव्र
काठमाडौं, भदौ । रसुवामा आएको बाढीपछि उत्पन्न विषम परिस्थितिमा हुन सक्ने चोरी, लुटपाट, ठगी तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले सुरक्षा निगरानी र परिचालनलाई थप प्रभावकारी बनाएको छ।
विपद्का बेला सुरक्षाकर्मी खोज तथा उद्धारमा केन्द्रित हुने र प्रभावित क्षेत्रका नागरिक त्रासमा रहने अवस्थाको फाइदा उठाउँदै आपराधिक गतिविधि हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सूचना संकलन, गस्ती, निगरानी तथा सामाजिक सञ्जाल अनुगमनलाई तीव्र बनाएको जनाएको छ।
यस क्रममा धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको सेफ फेला पारी त्यसबाट नगद चोरी गरेको आरोपमा २९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्दा ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, राहत सहयोगका नाममा भ्रम फैलाएको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की पक्राउ परेका छन्। उनले बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै ChatGPT प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ।
यसैगरी, बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा चितवन भरतपुर महानगरपालिका–१ लीला चोकका २५ वर्षीय मदन गुरुङसहित दुई जनालाई भदौ ११ गते प्रहरीले पक्राउ गरेको जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विपद्को समयमा चोरी, लुटपाट तथा राहत सहयोगका नाममा हुन सक्ने साइबर स्क्यामलगायतका अपराध नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको बताउनुभएको छ।
उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको छ। साथै, विपद्को नाममा हुन सक्ने साइबर ठगी तथा अन्य आपराधिक गतिविधिबारे सर्वसाधारणलाई सचेत गराउने कामसमेत भइरहेको छ।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई थप जोखिमबाट जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र सोही अवस्थाको फाइदा उठाएर चोरी तथा लुटपाट हुन नदिन प्रहरीले गस्ती र निगरानी बढाएको जनाएको छ।
विपद्का कारण सडक तथा पुल अवरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या देखिएपछि अवरोध हटाउन नेपाल प्रहरीले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।
प्रहरीले आपराधिक गतिविधि भइरहेको वा हुन सक्नेबारे सूचना प्राप्त भए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपतकालीन नम्बर १०० मा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रमा भेटिएका महत्वपूर्ण तथा मूल्यवान सामग्रीसमेत सुरक्षित राखी प्रहरीलाई बुझाउन अनुरोध गरिएको छ।



प्रतिकृया दिनुहोस्