दुबईमा व्यवसाय गर्ने नेपाली उद्यमी विष्णु पुडासैनीको ठूलो मन, बाढीपीडितका लागि दिए ५१ लाख ५१ हजारभन्दा बढी

दुबईमा व्यवसाय गर्ने नेपाली उद्यमी विष्णु पुडासैनीको ठूलो मन, बाढीपीडितका लागि दिए ५१ लाख ५१ हजारभन्दा बढी

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि दुबईमा व्यवसाय सञ्चालन गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

पुडासैनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा पुडासैनीका बुबा गोपीप्रसाद पुडासैनीसमेत सहभागी थिए।

विपत्तिको समयमा स्वदेशबाट टाढा रहे पनि पीडित नागरिकको दुःखले आफूलाई भावुक बनाएको पुडासैनीले बताए।

“विदेशमा भए पनि मेरो मन नेपालमै छ। देश कठिन अवस्थामा रहेका बेला चुप लागेर बस्न सकिनँ। आफ्नो क्षमताअनुसार सहयोग गर्न पाउनु मातृभूमिप्रतिको दायित्व पूरा गर्ने एउटा सानो प्रयास हो,” उनले भने।

पुडासैनीले आफूले गरेको सहयोगलाई केवल आर्थिक सहयोगका रूपमा नभई विपत्तिमा रहेका नेपालीप्रतिको ऐक्यबद्धताको रूपमा लिनुपर्ने बताए।

उनले विदेशमा रहेका नेपालीहरूलाई समेत आफ्नो आर्थिक क्षमताअनुसार विपत्तिमा परेका नागरिकका लागि सहयोग गर्न अपिल गरेका छन्।

“हामी जहाँ भए पनि देशलाई समस्या पर्दा एकजुट हुनुपर्छ। विदेशमा रहेका नेपालीले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ,” पुडासैनीले आग्रह गरे।

उनका अनुसार प्राकृतिक विपत्तिमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनःस्थापनामा पनि सबै पक्षको सहकार्य आवश्यक छ।

पुडासैनीको यो सहयोगले विदेशमा व्यवसाय तथा रोजगारीका सिलसिलामा रहेका नेपालीहरूलाई पनि मातृभूमिमा आइपरेको संकटमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

देश प्राकृतिक विपत्तिको सामना गरिरहेको अवस्थामा व्यक्ति, व्यवसायी, संघसंस्था तथा विदेशमा रहेका नेपाली समुदायबाट प्राप्त सहयोगले प्रभावित नागरिकको राहत र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

पुडासैनीले पनि “सक्नेले सक्दो सहयोग गरौँ, विपत्तिमा परेकालाई एक्लो महसुस हुन नदिऔँ” भन्ने सन्देशसहित सबैलाई मानवीय सहयोगमा जुट्न आग्रह गरेका छन्।

Photo/News Source: Pradip Raj Onta RSS