भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन
काठमाडौँ, ११ भदौ ।ठाँटी खबर। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लाहरू प्रभावित भएपछि उद्धार, खोजी तथा राहत व्यवस्थापनका लागि नेपाल प्रहरीले थप जनशक्ति परिचालन गरेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, बेपत्ता व्यक्तिको खोजी, राहत वितरण, शव व्यवस्थापन तथा क्षतिको मूल्याङ्कन लगायतका कामलाई प्रभावकारी बनाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमाण्डमा विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
परिचालन गरिएका टोलीसँग आवश्यक फोटोग्राफी उपकरण, ड्रोन क्यामेरा तथा सञ्चार साधन समेत उपलब्ध गराइएको छ। टोलीले घाइतेको उद्धार, मानवीय तथा भौतिक क्षतिको विवरण संकलन, शव व्यवस्थापन र अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गर्नेछ।
प्रहरीका अनुसार एसएसपी तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवनमा खटाइएको छ।
त्यस्तै एसएसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा टोलीलाई मुग्लिङमा आधार बनाएर तनहुँ, गोरखा र चितवन क्षेत्रमा परिचालन गरिएको छ। एसएसपी रमेश थापाको कमाण्डमा चार सदस्यीय टोलीलाई गल्छीमा आधार बनाएर धादिङ तथा नुवाकोट सीमासम्म परिचालन गरिएको प्रहरीले जनाएको छ।
यसैगरी एसएसपी अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्चिम क्षेत्रमा परिचालन गरिएको छ। एसएसपी विमलराज कँडेलको कमाण्डमा चार सदस्यीय टोलीलाई नुवाकोटमा आधार बनाएर नुवाकोट जिल्लाभर तथा रसुवा सीमासम्म परिचालन गरिएको छ।
यता एसएसपी होबिन्द्र बोगटीको कमाण्डमा चार सदस्यीय टोलीलाई रसुवा तथा अन्य प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। उक्त टोलीले बाढी तथा पहिरोका कारण क्षतिग्रस्त मुख्य राजमार्ग र सडकखण्डमा यातायात सञ्चालन सहज बनाउन अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्नेछ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन फिल्डमै आवश्यक जनशक्ति, प्रविधि र सञ्चार साधन परिचालन गरिएको हो।



प्रतिकृया दिनुहोस्