ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न

ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न

काठमाडौं, ठाँटी खबर —नेपाली सुगम तथा कालजयी साङ्गीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिने एक अविस्मरणीय र ऐतिहासिक साङ्गीतिक उत्सवको रूपमा ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ २०८३’ भव्यताका साथ सम्पन्न भएको छ। काठमाडौँस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजना गरिएको उक्त विशेष साहित्यिक तथा साङ्गीतिक समारोहले नेपाली सङ्गीत, कला र साहित्य क्षेत्रका मूर्धन्य तथा विशिष्ट व्यक्तित्वहरूलाई एउटै मञ्चमा जोड्दै ऐतिहासिक गरिमा अभिवृद्धि गरेको छ।

समारोहको शुभारम्भ र सञ्चालनसँगै देशका प्रमुख राजनीतिक, साहित्यिक, सामाजिक तथा कला-सङ्गीत क्षेत्रका उच्च व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति तथा राष्ट्रिय सूक्तिमय कवि वैरागी काइँला (तिलविक्रम नेम्वाङ) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा साहित्य र सङ्गीतको अनुपम सङ्गम प्रस्तुत गरिएको थियो। कार्यक्रममा अग्रज स्रष्टा, साहित्यकार तथा विशिष्ट राजनीतिज्ञहरूको उपस्थिति एवं सम्मानले साङ्गीतिक माहौललाई थप जीवन्त र गरिमामय बनाएको थियो।

समारोहका अवसरमा नेपाली सुगम सङ्गीत, आधुनिक सङ्गीत तथा चलचित्र सङ्गीतको क्षेत्रमा ६ दशकभन्दा बढी समयदेखि अतुलनीय योगदान पुर्‍याउँदै आउनुभएका वरिष्ठ सङ्गीतकार, सङ्गीत रत्न शम्भूजीत बासकोटालाई ‘उन्नती बोहरा शीला सङ्गीत समर्पण २०८३’सम्मानबाट विशेष रूपमा अभिनन्दित गरियो। नगद रु. १,५१,००० (एक लाख एकाउन्न हजार) राशि तथा विशेष सम्मान-पत्रसहित उहाँलाई ‘उन्नती बोहरा शीला गीत पुरस्कार मञ्च’ को आधिकारिक प्रमुख संरक्षकका रूपमा समेत घोषणा गरी अभिनन्दन गरिएको थियो।

उक्त भव्य साँझमा विभिन्न साहित्यिक संस्था, नारी साहित्य प्रतिष्ठान, र साहित्यिक पत्रपत्रिकाहरूको संयुक्त पहलमा वरिष्ठ गीतकार, कवयित्री तथा स्रष्टा उन्नती बोहरा ‘शीला’ प्रति सादर समर्पण गर्दै बधाई तथा अभिनन्दन पत्र अर्पण गरियो। विगत ६० वर्षदेखि गीत-सङ्गीत, काव्य रचना तथा साधनाको क्षेत्रमा क्रियाशील रही १५ वटाभन्दा बढी साङ्गीतिक एल्बम तथा २५० भन्दा बढी गीत-रचनामार्फत नेपाली सङ्गीतको भण्डार समृद्ध बनाउनुभएकोमा स्रष्टा शीलाको योगदानको उच्च कदर गर्दै अभिनन्दन गरिएको थियो।

साङ्गीतिक समर्पण साँझमा नेपालका ख्यातिप्राप्त वरिष्ठ तथा नयाँ पुस्ताका चर्चित गायक-गायिकाहरूले स्रष्टा उन्नती बोहरा शीलाका कालजयी र भावपूर्ण रचनाहरूमा आफ्ना ममधुर स्वरहरू प्रस्तुत गरेका थिए। गायक प्रमोद खरेल, बानिका प्रधान, माण्डवी त्रिपाठी, जगदीश समाल, प्रविणेडवाल, र वरिष्ठ गायक कर्ण दास लगायतका दिग्गज कलाकारहरूले प्रत्यक्ष वाद्यवादन (लाइभ ब्यान्ड) को साथमा आफ्ना सशक्त साङ्गीतिक प्रस्तुतिहरू दिएका थिए।

गीतकार उन्नती बोहरा शीलाले आफ्नो सम्बोधनका क्रममा आफ्ना गीत-सङ्गीतका प्रेरक स्तम्भ, स्व. छोरी चाँदनी बोहरा ग्यारेट तथा स्व. श्रीमान् पूर्व मन्त्री दीपक बोहराको सम्झनामा सम्पूर्ण साङ्गीतिक समर्पण अर्पण गर्दै भावुक श्रद्धाञ्जली र सम्मान व्यक्त गर्नुभयो। साथै, देशमा भर्खरै बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति गहिरो शोक प्रकट गर्दै सांस्कृतिक चेतनाले नै समाजमा शान्ति, सहिष्णुता र भाइचारा कायम राख्ने सन्देश उहाँले व्यक्त गर्नुभयो।

वरिष्ठ सङ्गीत संयोजक तथा सेक्सोफोन वादक मनोहर सुनामको नेतृत्वमा गठित विशाल र कुशल वाद्यवाद्य टोलीले सम्पूर्ण साङ्गीतिक प्रस्तुतिहरूलाई अत्यधिक जीवन्त बनाएको थियो। नेपालको साङ्गीतिक इतिहासमा एउटा स्वर्णिम पानाको रूपमा दर्ता भएको यो ‘उन्नती शीला सङ्गीत समर्पण साँझ २०८३’ सम्पूर्ण सङ्गीत प्रेमी, स्रष्टा, र नेपाली कला जगत्‌का लागि सधैँ स्मरणयोग्य र ऐतिहासिक उपलब्धि बनेको छ।