एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल

एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल

काठमाडौँ — जापानबाट नेपाल फर्किएका एक विद्यार्थीको घटनालाई लिएर मिडिया र सामाजिक सञ्जालमा भइरहेको सामग्री सम्प्रेषण,आरोप-प्रत्यारोप तथा समाचार संकलनका क्रममा अपनाइएको कार्यशैलीप्रति नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले प्रेस काउन्सिल नेपालसमक्ष औपचारिक अपिल गर्दै निष्पक्ष पत्रकारिताको मर्यादा कायम राख्न र ‘मिडिया ट्रायल’ रोक्न आग्रह गरेको छ।ECAN ले वैदेशिक अध्ययनमा रहेका नेपाली विद्यार्थीमाथि हुने कुनै पनि प्रकारको अन्याय, आर्थिक शोषण, गलत परामर्श वा संस्थागत लापरवाहीको निष्पक्ष छानबिन हुनुपर्ने स्पष्ट पारेको छ।

दोषी देखिएका पक्षले कानून र प्रचलित प्रक्रिया अनुसार जवाफदेहिता वहन गर्नुपर्ने र विद्यार्थीको अधिकार, सुरक्षा तथा भविष्यको संरक्षणमा कुनै सम्झौता हुन नसक्ने संघको ठहर छ।विज्ञप्तिमा समाचार संकलनका क्रममा केही सञ्चारकर्मी परामर्श संस्थाको कार्यालयमै पुगेर कर्मचारीलाई असहज बनाउने, दबाब सिर्जना गर्ने र एकपक्षीय सामग्रीमार्फत संस्थागत प्रतिष्ठामा क्षति पुर्‍याउने अभ्यास बढेको भन्दै आपत्ति जनाइएको छ। कुनै आरोप लाग्दैमा निष्पक्ष छानबिन र प्रमाणको पर्खाइ नगरी सञ्चार माध्यम आफैँले दोषी निर्धारण गर्न नमिल्ने ECAN को भनाइ छ।नेपालको संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरे पनि सोही व्यवस्थाले सञ्चार माध्यमको नियमनका लागि कानून निर्माणको आधार स्पष्ट पारेको ECAN ले उल्लेख गरेको छ।

पत्रकार आचारसंहिता (२०७३) अनुसार सत्यतथ्यमा आधारित समाचार, सन्तुलित प्रस्तुति, सम्बन्धित पक्षको भनाइ, गोपनीयताको सम्मान र त्रुटि सच्च्याउने दायित्व नै जिम्मेवार पत्रकारिताको आधार स्तम्भ भएको विज्ञप्तिमा स्मरण गराइएको छ।एकपक्षीय सामग्री सम्प्रेषण र सामाजिक सञ्जालको प्रभावले छानबिन अघि नै सार्वजनिक धारणा बन्ने र पछि आरोप अप्रमाणित भए पनि सिर्जित क्षति सच्चाउन असम्भव हुने स्थितिप्रति संघले सचेत गराएको छ। यस्तो वातावरणले निष्पक्ष छानबिनमा बाधा पुग्ने र कर्मचारी तथा तिनका परिवार सामाजिक दबाबमा पर्ने भएकाले उत्तेजनाभन्दा प्रमाणमा आधारित भएर समाचार प्रकाशन हुनुपर्नेमा जोड दिइएको छ!

अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र बहुपक्षीय जिम्मेवारीमा आधारित हुने भएकाले विद्यार्थी, परामर्श संस्था, विदेशी शैक्षिक संस्था र नियमनकारी निकाय सबैको भूमिकाको निष्पक्ष परीक्षण हुनुपर्ने ECAN ले जनाएको छ। कुनै सदस्य संस्थाले बद्नियतपूर्ण काम गरेको प्रमाणित भए संघले संरक्षण नगर्ने र विधान तथा कानून अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, विद्यार्थी तथा अभिभावकलाई आफ्ना उजुरी प्रमाणसहित संघको सचिवालयमा दर्ता गराउन आह्वान गरिएको छ।

प्रेस काउन्सिल नेपालसमक्ष मुख्य मागहरू:

१. स्वतन्त्र समीक्षा: जापानबाट फर्किएका विद्यार्थीसँग सम्बन्धित प्रसारित समाचार, भिजुअल र टिप्पणीहरूको आचारसंहिता अनुसार समीक्षा गरियोस्।

२. एकपक्षीय सम्प्रेषणको परीक्षण: आरोपको स्रोत, प्रमाणको आधार र दुवै पक्षको भनाइको सन्तुलन जाँच गरियोस्।

३. कार्यालयभित्रको मर्यादा अनुगमन: समाचार संकलनका क्रममा व्यक्तिगत गोपनीयता, कर्मचारीको मर्यादा र कानूनी सीमाको पालना भए/नभएको अध्ययन गरियोस्।

४. गोपनीयताको संरक्षण: विद्यार्थीको पहिचान र दीर्घकालीन हितलाई ध्यानमा राखेर समाचार सम्प्रेषणको व्यवस्था मिलाइयोस्।

५. भुलसुधार र कारबाही: factual त्रुटि वा एकपक्षीय सामग्री देखिएमा भुलसुधार/खण्डन गराउन र आचारसंहिता उल्लङ्घन पुष्टि भए दायराभित्र ल्याई कारबाही गरियोस्।