अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं, प्रहरीले देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ। चितवन, कास्की, दाङ, भक्तपुर, तनहुँ, झापा, कैलाली र सुनसरीबाट उनीहरू पक्राउ परेका हुन्।
चितवनमा दुई जना पक्राउ
रत्ननगर नगरपालिका–३ बस्ने २५ वर्षीय आशिष पुरी र रत्ननगर–७ बागमारा बस्ने ३८ वर्षीय दिनेश सुनारलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ७३० मिलिग्राम र नगद २७ हजार रुपैयाँसहित बिहीबार साँझ पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
कास्कीमा नियन्त्रित लागूऔषधसहित दुई जना
पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट डाईजेपाम ४, नोर्फिन ४ र फेनारगन ४ एम्पुलसहित पोखरा–२५ हेम्जा बस्ने धनकुटाका २३ वर्षीय मनोज लिम्बु पक्राउ परेका छन्।
त्यस्तै, पोखरा–३२ खुदीखोलाबाट नोर्फिन २०, डाईजेपाम २१ र फेनारगन २० एम्पुल तथा नगद २१ हजार रुपैयाँसहित पोखरा–२२ पुम्दीभुम्दीका २१ वर्षीय शौरभ परियार पक्राउ परेका छन्।
दाङमा श्रीमान्–श्रीमती पक्राउ
तुलसीपुर उपमहानगरपालिका–१२ टरिगै बस्ने सरद पाण्डे र उनकी श्रीमती भिमा भण्डारीलाई ब्राउनसुगरजस्तो देखिने पदार्थ २२० मिलिग्रामसहित पक्राउ गरिएको छ। प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।
भक्तपुरमा ८१२ ट्रामाडोल ट्याब्लेट बरामद
चाँगुनारायण नगरपालिका–२ दुवाकोटमोडबाट काठमाडौं महानगरपालिका–१० अनामनगर बस्ने ३२ वर्षीय अजय डंगोललाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८१२ ट्याब्लेटसहित पक्राउ गरिएको छ।
तनहुँमा पसलबाट लागूऔषध बरामद
आँबुखैरेनी गाउँपालिका–३ प्रगतिटोलमा मासु पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय साजन श्रेष्ठलाई ट्रामाडोल ३०० ट्याब्लेट र प्रोमेथाजाइन ३२५ ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
झापामा सीमाबाट लागूऔषधसहित पक्राउ
भद्रपुर नगरपालिका–५ नयाँबजारबाट बिर्तामोड नगरपालिका–२ गरामनी बस्ने २१ वर्षीय अजय रेग्मीलाई ब्राउनसुगरजस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्रामसहित पक्राउ गरिएको छ। उनी भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।
कैलालीमा ब्राउनसुगरजस्तो पदार्थसहित पक्राउ
धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट सोही ठाउँका २० वर्षीय अबिनाश चौधरीलाई ब्राउनसुगरजस्तो देखिने पदार्थ १७० मिलिग्रामसहित पक्राउ गरिएको छ।
सुनसरीमा पनि एक जना पक्राउ
इटहरी उपमहानगरपालिका–१७ बाट सोही ठाउँका २५ वर्षीय अस्रफ मियालाई खैरो हेरोइनजस्तो देखिने पदार्थ २३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको छ।



प्रतिकृया दिनुहोस्