नेपाल सरकारको निशान छाप दुरुपयोग गरी जीपीएस ट्र्याकर बिक्री, एक जना पक्राउ

नेपाल सरकारको निशान छाप दुरुपयोग गरी जीपीएस ट्र्याकर बिक्री, एक जना पक्राउ

काठमाडौं, २६ साउन । नेपाल सरकारको स्वीकृति नलिई सरकारी निशान छाप दुरुपयोग गर्दै जीपीएस ट्र्याकर बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ टेवहाल बस्ने रौतहट चन्द्रपुर नगरपालिका–२ घर भएका २९ वर्षीय दिपेन्द्र कर्माचार्य रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शुक्रबार टेवहालबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा कर्माचार्यले आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्याउँदै चीनबाट आयात गरिएका जीपीएस ट्र्याकरमा नेपाल सरकारको निशान छाप राख्न लगाई, नेपाल सरकारबाट मान्यता प्राप्त डिभाइस भएको झुटो प्रचार गरी बिक्री–वितरण गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट नेपाल सरकारको निशान छाप अंकित ५२ थान जीपीएस ट्र्याकर बरामद गरेको छ।

पक्राउ परेका कर्माचार्यलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।