वैदेशिक रोजगारीको प्रलोभनमा करोडौँ ठगी, पाँच जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा करोडौँ ठगी, पाँच जना पक्राउ

काठमाडौं, २६ साउन । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउपरेका छन्।

पक्राउ पर्नेमा करण ऐर, सुनिता श्रेष्ठ, प्रेम पुरी, अच्युत दुलाल र बिर्खबहादुर विक रहेका छन्। प्रहरीले उनीहरूले क्रोएसिया, युरोप, जापान र क्यानडा पठाइदिने भन्दै पीडितहरूबाट रकम लिएको जनाएको छ।

प्रहरीका अनुसार प्रेम पुरीले जापान पठाइदिने भन्दै ११४ जना पीडितबाट मात्रै २ करोड २५ लाख रुपैयाँ लिएको आरोप छ। त्यस्तै, अच्युत दुलालले क्यानडा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख, करण ऐरले क्रोएसिया पठाइदिने भन्दै ६ लाख, सुनिता श्रेष्ठले युरोप पठाइदिने भन्दै ३ लाख ५० हजार र बिर्खबहादुर विकले क्रोएसिया पठाइदिने भन्दै १ लाख रुपैयाँ लिएको उजुरी परेको थियो।

सम्पर्कविहीन भएको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।