सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, २६ साउन । कास्की र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकमा घट्टेखोलाबाट पोखरातर्फ आउँदै गरेको ग.१४ प २५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार म्याग्दी धौलागिरी गाउँपालिका–२ लुलाङका १६ वर्षीय अनिल विकको मृत्यु भएको छ। गम्भीर घाइते भएका विकको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा ना.३ ख ८८६३ नम्बरको टिपरले म.प्र–०२–००७ प ३०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिथिला बिहारी नगरपालिका–२ कुटीटोलका ४० वर्षीय ईश्वरदेव राउतको मृत्यु भएको छ। गम्भीर घाइते राउतको न्यूरो अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुवै दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।