ट्राफिक जरिवाना प्रहरीको प्राथमिकता होइन : डीआईजी काफ्ले

ट्राफिक जरिवाना प्रहरीको प्राथमिकता होइन : डीआईजी काफ्ले

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले ट्राफिक नियम पालना गराउन जरिवानाभन्दा पनि सडक दुर्घटना न्यूनीकरणलाई प्रहरीले प्राथमिकता दिएको बताउनुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँगको साक्षात्कारका क्रममा डीआईजी काफ्लेले ट्राफिक नियम सबैले पालना गर्ने वातावरण बनेमा प्रहरीले जरिवाना गर्नुपर्ने अवस्था नै नआउने बताउनुभयो। उहाँका अनुसार प्रहरीको मुख्य उद्देश्य दुर्घटना घटाउनु र दुर्घटनाबाट हुने जनधनको क्षतिलाई सकेसम्म शून्यमा झार्नु हो।

उहाँले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम विस्तार गर्नुका साथै प्रहरीको सक्रियता पनि बढाइने जानकारी दिनुभयो।

साक्षात्कारमा डीआईजी काफ्लेले आर्थिक वर्ष २०८२/८३ मा नेपाल प्रहरीले गरेका प्रमुख काम तथा उपलब्धिहरूको विस्तृत विवरण सञ्चारकर्मीसमक्ष प्रस्तुत गर्नुभयो। उहाँले प्रहरी जनशक्ति, प्रहरी इकाइ तथा भौतिक संरचना, नयाँ नियुक्ति, सरुवा, बढुवा, कारबाही, पुरस्कार र प्रशिक्षणलगायतका विषयमा जानकारी दिनुभयो।

त्यस्तै एक वर्षको अपराध अनुसन्धानसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै उहाँले गम्भीर तथा जघन्य अपराध, प्रदेशगत कसुर, लागूऔषध नियन्त्रण, मानव बेचबिखन, साइबर अपराध, घरेलु हिंसा, सम्पत्ति शुद्धीकरण, फैसला कार्यान्वयन तथा हराएका र फेला परेका व्यक्तिसम्बन्धी विवरणसमेत सार्वजनिक गर्नुभयो।

कार्यक्रममा चर्चित अपराधको अनुसन्धान, अन्तर्राष्ट्रिय समन्वय तथा सहयोग, एनसीबी काठमाडौंको कार्यसम्पादन, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी, विपद् व्यवस्थापन तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिताबारे पनि जानकारी दिइएको थियो।

डीआईजी काफ्लेले प्रविधिको प्रयोग, दक्ष जनशक्ति निर्माण तथा प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्न विभिन्न कल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो। साथै नागरिकमैत्री सेवा प्रवाह र सेवाग्राहीप्रतिको जवाफदेहितालाई नेपाल प्रहरीले निरन्तर प्राथमिकतामा राख्दै आएको उहाँको भनाइ थियो।

उहाँले कानुन कार्यान्वयनमा नेपाल प्रहरी दृढ रहेको उल्लेख गर्दै प्रहरी संगठनको सुदृढीकरण र नागरिकप्रतिको जवाफदेहिता बढाउन सञ्चारकर्मीबाट प्राप्त सुझाव महत्वपूर्ण हुने बताउनुभयो। प्रहरी र सञ्चारमाध्यमबीचको सहकार्य तथा समन्वयलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी तथा प्रहरी अधिकृतहरूको उपस्थिति थियो भने सातै प्रदेश प्रहरी कार्यालयका प्रवक्ता र जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।


Photo: Nepal Police