तीन महिनामै लागूऔषधविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, ३ हजार ३ सय १६ जना पक्राउ

तीन महिनामै लागूऔषधविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, ३ हजार ३ सय १६ जना पक्राउ

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये काठमाडौं उपत्यकाबाट ५११, कोशी प्रदेशबाट ७१३, मधेश प्रदेशबाट २५५, बागमती प्रदेशबाट ४२८, गण्डकी प्रदेशबाट १८९, लुम्बिनी प्रदेशबाट ५११, कर्णाली प्रदेशबाट १२१, सुदूरपश्चिम प्रदेशबाट ४५७ तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट १३१ जनारहेका छन्।

उक्त अवधिमा प्रहरीले ८ हजार ६३२ किलोभन्दा बढी गाँजा, ३१ किलोभन्दा बढी चरेस, ५ किलोभन्दा बढी कोकिन, ११ किलोभन्दा बढी हेरोइन, १२७ किलोभन्दा बढी अफिम, २१ किलोभन्दा बढी पोलेन बरामद गरेको छ। साथै ट्रामाडोलका ९ लाख ७६ हजारभन्दा बढी ट्याब्लेट, नाइट्राभेट, स्पास्मो, डाईजेपाम, फेनारगनबुप्रेनोर्फिनका हजारौं ट्याब्लेट तथा एम्पुल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले लागूऔषध कारोबार तथा दुव्र्यसनविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने अभियानलाई अझ प्रभावकारी बनाएको जनाएको छ। साथै समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत लागूऔषध उत्पादन, ओसारपसार र दुव्र्यसनका नकारात्मक असरबारे देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।