व्यापार वित्तलाई सुरक्षित र प्रभावकारी बनाउन नेपाल बैंकर्स संघको विशेष तालिम

व्यापार वित्तलाई सुरक्षित र प्रभावकारी बनाउन नेपाल बैंकर्स संघको विशेष तालिम

काठमाडौं। अन्तर्राष्ट्रिय व्यापारलाई अझ सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल बैंकर्स संघ (NBA) ले ‘नेपालमा भन्सार क्लियरेन्स तथा HS Code Practices सम्बन्धी ज्ञान अभिवृद्धि’ विषयमा एकदिने विशेष तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

सदस्य बैंकका ट्रेड फाइनान्स क्षेत्रका पेशाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त तालिमले भन्सार क्लियरेन्स प्रक्रिया, Harmonized System (HS) Code वर्गीकरण तथा मूल्य प्रमाणीकरणसम्बन्धी व्यावहारिक ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको नेपाल बैंकर्स संघले जनाएको छ। यसले अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, नियामकीय अनुपालन र सञ्चालन जोखिम न्यूनीकरणमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

तालिमको सहजीकरण भन्सार विभागका निर्देशक ज्ञानेन्द्र राज ढकालले गर्नुभएको थियो। उहाँले भन्सार प्रशासन, व्यापारसम्बन्धी प्रक्रिया, HS Code को सही वर्गीकरण, व्यापारिक कागजातको उचित परीक्षण, भन्सार मूल्याङ्कन तथा मूल्य प्रमाणीकरणका विषयमा विस्तृत प्रस्तुति दिँदै बैंकहरूले व्यापार वित्तीय कारोबार गर्दा विशेष सतर्कता अपनाउनुपर्ने पक्षहरूबारे प्रकाश पार्नुभयो।

नेपाल बैंकर्स संघले यस्ता व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रममार्फत बैंकिङ क्षेत्रलाई थप दक्ष, विश्वसनीय र अन्तर्राष्ट्रिय व्यापारमैत्री बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तर अघि बढाइरहेको जनाएको छ।


(फोटो स्रोत: नेपाल बैंकर्स संघ (Nepal Bankers’ Association)