कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ
काठमाडौं, श्रावण — आकर्षक तलबसहित कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३७ वर्षीय हरि बहादुर पन्त र सिन्धुली सुनकोशी गाउँपालिका–२ घर भई हाल ललितपुर गोदावरी नगरपालिका–३ बस्ने ४७ वर्षीय अमृत मगर रहेका छन्।
प्रहरीका अनुसार, हरि बहादुर पन्तले कम्बोडिया पठाइदिने भन्दै २ जना पीडितबाट ५ लाख रुपैयाँ र अमृत मगरले न्यूजिल्याण्ड पठाइदिने भन्दै १ जना पीडितबाट १० लाख ७० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले हरि बहादुरलाई बुढानीलकण्ठ नगरपालिका–७ र अमृतलाई ललितपुर महानगरपालिका–५ बाट पक्राउ गरेको हो।
दुवैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित म्यानपावर कम्पनी र प्रस्तावको वैधानिकता अनिवार्य रूपमा जाँच गर्नुहोस्। आकर्षक तलबको प्रलोभनमा नपरी आधिकारिक प्रक्रियामार्फत मात्रै वैदेशिक रोजगारीमा जानुहोस्।



प्रतिकृया दिनुहोस्