आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारी ठगी गर्ने आरोपमा ५ जना पक्राउ, करोडौँको सपना देखाएर लाखौँ असुलेको आरोप
काठमाडौं, आकर्षक तलबसहित विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पीडितहरूको उजुरीका आधारमा सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, बर्दिया घर भएका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार तथा खोटाङ घर भएका ४१ वर्षीय निरोज राईलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कुनसाङले यूएई पठाइदिने भन्दै २ लाख ७ हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै २ लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै ५ लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै १ लाख ५० हजार रुपैयाँ तथा निरोजले टर्की पठाइदिने भन्दै दुई जना पीडितबाट ७ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो।
उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।
वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित कम्पनी, म्यानपावर र कागजातको आधिकारिक रूपमा अनिवार्य रूपमा पुष्टि गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ।



प्रतिकृया दिनुहोस्