समुन्नत महिला मञ्च नेपालद्वारा सञ्चालित २५ दिने ब्युटी पार्लर तालिम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

समुन्नत महिला मञ्च नेपालद्वारा सञ्चालित २५ दिने ब्युटी पार्लर तालिम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

काठमाडौं, असार “स्वस्थ र शिक्षित महिला, हिंसारहित समाज पहिले बनाऔँ” भन्ने मूल नारासहित समुन्नत महिला मञ्च नेपालको आयोजनामा तथा कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा सञ्चालित २५ दिने ब्युटी पार्लर (श्रृंगार) सम्बन्धी सीपमूलक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम कागेश्वरी मनोहरा–८, गोठाटारस्थित सेलिब्रेसन स्कूल प्राङ्गणमा सम्पन्न भएको छ।

महिलाहरूलाई व्यावसायिक सीप प्रदान गर्दै आत्मनिर्भर, स्वरोजगारमुखी र आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त वडा-स्तरीय तालिममा गृहिणी, साना उद्यमी व्यवसायी तथा अन्य महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा सोमा खत्रीको सभाध्यक्षता रहेको थियो भने सन्ता थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी प्रकाश फुयाँलधर्मपाल गुरु वशिष्ठ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कागेश्वरी मनोहरा नगरपालिकाकी कार्यपालिका सदस्य रूपमती भण्डारीको समेत कार्यक्रममा विशेष सहभागिता रहेको थियो।

तालिममा प्रशिक्षक (Trainer) तथा International Cosmetologist मन्दिरा खड्का (HAYU) ले सहभागी महिलाहरूलाई ब्युटी पार्लर व्यवसायसँग सम्बन्धित सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान र सीप प्रदान गर्नुभएको थियो। उहाँ भक्तपुरको कौशलटार, तेर्साटारस्थित GM Beauty Salon with Training Centre की सञ्चालक हुनुहुन्छ।

समापन समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रमुख अतिथि, विशेष अतिथि तथा कार्यक्रमलाई सहयोग पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई मायाको चिनो, खादा र मालाद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा उपस्थित वक्ताहरूले महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा आत्मनिर्भर समाज निर्माणका लागि यस्ता सीपमूलक तालिमहरू प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्थानीय तह र सामाजिक संस्थाबीचको सहकार्यले महिलाको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पत्रकार, वरिष्ठ समाजसेवी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समुन्नत महिला मञ्च नेपालकी आजीवन सदस्य तथा वरिष्ठ समाजसेवी लक्ष्मी बस्नेतले कार्यक्रमको मिडिया समन्वय गर्नुभएको थियो।

त्यसैगरी, कार्यक्रममा समुन्नत महिला मञ्च नेपालका कार्यसमिति सदस्यहरू, आजीवन सदस्यहरू तथा अन्य सदस्यहरूको बाक्लो सहभागिता रहेको थियो। सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार सिर्जना र आत्मनिर्भर जीवनयापनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

आयोजक समुन्नत महिला मञ्च नेपालले महिलाको क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा हिंसामुक्त, समतामूलक समाज निर्माणका लागि यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।