साइबर अपराध नियन्त्रणमा नयाँ पहल: नेपाल प्रहरीद्वारा ‘Digital Action Dialogue 2026’ सम्पन्न

साइबर अपराध नियन्त्रणमा नयाँ पहल: नेपाल प्रहरीद्वारा ‘Digital Action Dialogue 2026’ सम्पन्न

काठमाडौं, बढ्दो साइबर अपराध, अनलाइन ठगी तथा प्रविधिको दुरुपयोगबाट हुने आपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीले महत्वपूर्ण पहल गर्दै ‘Digital Action Dialogue 2026’ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित, विश्वसनीय र उत्तरदायी डिजिटल नेपाल निर्माणका लागि सार्वजनिक–निजी सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले डिजिटल अनुसन्धान क्षमता, साइबर सुरक्षा र प्रमाणमा आधारित अनुसन्धान प्रणालीलाई अझ सुदृढ बनाउन कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रहरी महानिरीक्षक कार्कीले साइबर अपराधविरुद्धको लडाइँ कुनै एक निकायले मात्र जित्न नसक्ने उल्लेख गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायक, नियामक निकाय र साइबर सुरक्षा विज्ञबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय साइबर सुरक्षा केन्द्र, साइबर ब्यूरो, सूचना प्रविधि निर्देशनालय, निजी क्षेत्रका प्रविधि विज्ञ तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले साइबर सुरक्षा, अनलाइन ठगी नियन्त्रण, डिजिटल अनुसन्धान, सूचना आदान–प्रदान र प्रविधिगत क्षमता अभिवृद्धिका विषयमा प्रस्तुतीकरण तथा छलफल गरेका थिए।

परिसंवादमा साइबर अपराध अनुसन्धानमा देखिएका चुनौती, कानुनी तथा नीतिगत सुधार, अनुसन्धानलाई छरितो बनाउने उपाय र प्रविधिमैत्री समाधानका विषयमा व्यापक छलफल भएको थियो।

नेपाल प्रहरीका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य साइबर अपराध नियन्त्रणका लागि सम्बन्धित सबै सरोकारवालाबीच समन्वय सुदृढ गर्दै सुरक्षित डिजिटल वातावरण निर्माण गर्नु र अनुसन्धान क्षमतालाई आधुनिक प्रविधिसँग जोड्नु हो।