ललितपुर र पर्सामा लागूऔषधविरुद्ध प्रहरीको कारबाही: स्पासपेन र ब्राउनसुगरसहित ७ जना पक्राउ

ललितपुर र पर्सामा लागूऔषधविरुद्ध प्रहरीको कारबाही: स्पासपेन र ब्राउनसुगरसहित ७ जना पक्राउ

काठमाडौं,  लागूऔषध नियन्त्रण अभियानअन्तर्गत नेपाल प्रहरीले ललितपुर र पर्साका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित तथा अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।

ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित पाँच जनालाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा विक्रन्त शाही, बुद्ध गुरुङ, बज्रदेव महर्जन, सुजन महर्जन तथा दाङ घर भएका नबिन बुढाथोकी रहेका छन्। प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट ब्राउनसुगर जस्तो देखिने ३३० मिलिग्राम पदार्थ सहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा अरविन्द ओझा र मुकेश कुमार कुशहवा रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।