मनसुनको चुनौती सामना गर्न नेपाल प्रहरी पूर्ण तयारीमा: १० हजारभन्दा बढी प्रहरी उद्धारका लागि २४सै घण्टा ‘स्ट्यान्डबाइ’
काठमाडौं, मनसुनजन्य विपद्बाट नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीले देशव्यापी रूपमा व्यापक पूर्वतयारी पूरा गरेको छ। सम्भावित बाढी, पहिरो र डुबानजस्ता विपद्को प्रभाव न्यूनीकरणका लागि १०,०८५ भन्दा बढी प्रहरी आवश्यक उपकरणसहित तत्काल परिचालन हुनसक्ने अवस्थामा तयारी अवस्थामा राखिएका छन्।
नेपाल प्रहरीले राष्ट्रिय कार्ययोजना २०८३ अनुरूप आफ्नै ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०८३’ कार्यान्वयनमा ल्याउँदै केन्द्रदेखि प्रहरी चौकीसम्म उद्धार संयन्त्रलाई सक्रिय बनाएको जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार नेपाल प्रहरी शान्ति सुरक्षासँगै विपद् व्यवस्थापनमा पनि उत्तिकै प्रतिबद्ध छ। जोखिमयुक्त क्षेत्रहरूको पहिचान, उद्धार सामग्रीको मर्मत, जनशक्तिको तयारी र सम्बन्धित निकायहरूसँगको समन्वयलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा दुई प्लाटुन र प्रत्येक प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा एक–एक प्लाटुन उद्धार टोली २४सै घण्टा तयारी अवस्थामा रहने व्यवस्था गरिएको छ। आवश्यक परे देशभरका प्रहरी इकाईहरू तत्काल परिचालन हुनेछन्।
यसका साथै मनसुनजन्य उद्धार अभ्यास, सामुदायिक सचेतना कार्यक्रम र प्रहरी कर्मचारीलाई विशेष विपद् उद्धार तालिमसमेत सञ्चालन गरिएको छ। नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय तथा केनाइन इकाईलाई समेत विपद् व्यवस्थापन योजनामा समेटिएको छ।
नेपाल प्रहरीको यो पूर्वतयारीले मनसुनका कठिन समयमा नागरिकको सुरक्षा र उद्धारलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।(Photo: Nepal Police)



प्रतिकृया दिनुहोस्