ज्येष्ठ नागरिकको सम्मानका लागि ऐतिहासिक पहल, भवन निर्माण सहयोगार्थ महायज्ञ सुरु हुँदै
काठमाडौं, १६ असार । चन्द्रागिरि नगरपालिका–१२ मा ‘श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं ज्येष्ठ नागरिक धार्मिक महोत्सव–२०८३’ आयोजना हुने भएको छ। ज्येष्ठ नागरिक क्लबको आयोजना तथा विश्वशान्ति फाउन्डेसन नेपालको संयोजनमा हुने महायज्ञको मुख्य उद्देश्य ज्येष्ठ नागरिक भवन निर्माणका लागि आवश्यक स्रोत जुटाउनुका साथै धर्म, संस्कृति र सामाजिक एकतालाई सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ।
आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार महायज्ञमा धार्मिक प्रवचन, भजन–कीर्तन तथा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। यस अभियानले ज्येष्ठ नागरिकप्रति सम्मान अभिवृद्धि गर्नुका साथै समाजमा पुस्तान्तरणीय ज्ञान, संस्कार र अनुभवलाई संरक्षण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
आयोजकका अनुसार बदलिँदो सामाजिक परिवेशमा ज्येष्ठ नागरिकलाई सम्मानजनक र सहज वातावरण उपलब्ध गराउने उद्देश्यले भवन निर्माण अभियान अघि बढाइएको हो। महायज्ञबाट संकलित सहयोग भवन निर्माण तथा ज्येष्ठ नागरिकको सेवामा उपयोग गरिने जनाइएको छ।
आयोजक समितिले चन्द्रागिरिवासी, काठमाडौं उपत्यकाका सर्वसाधारण, समाजसेवी, उद्योगी–व्यवसायी, शिक्षाविद्, विभिन्न संघसंस्था तथा धार्मिक आस्थावान नागरिकलाई कार्यक्रममा सहभागी भई पुण्य कार्यमा साथ दिन आग्रह गरेको छ। धार्मिक आस्था, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा यस महायज्ञलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको आयोजकको भनाइ छ।



प्रतिकृया दिनुहोस्