ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

काठमाडौं, आफूलाई ई–सेवाको कर्मचारी भएको नक्कली परिचय दिई अनलाइन ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साह रहेका छन्। उनलाई साइबर ब्यूरो, भोटाहिटी काठमाडौं बाट खटिएको टोलीले पक्राउ गरेको हो।

कसरी ठगी गर्थे ?

प्रारम्भिक अनुसन्धान अनुसार उनले आफूलाई ई–सेवा प्रतिनिधि भन्दै पीडितलाई फोन गरी “तपाईंको खातामा रिवार्ड पोइन्ट छ” भन्ने बहानामा ओटीपी कोड मागेर रकम चोरी गर्ने गरेको खुलेको छ।

त्यस क्रममा उनले एक व्यवसायिक संस्थाको मोबाइलमा पटक–पटक फोन गरी ओटीपी लिएर करिब १ लाख ९८ हजार ४ सय ९९ रुपैयाँ ई–सेवा आईडीमा ट्रान्सफर गरेको प्रहरीले जनाएको छ। पछि सो रकमबाट विभिन्न सामान खरिद समेत गरिएको देखिएको छ।

बरामद सामग्री

प्रहरीले उनको साथबाट ४ थान मोबाइल फोन र ४ थान सिमकार्ड बरामद गरेको छ।

कानुनी प्रक्रिया

पक्राउ परेका साहलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीको चेतावनी: कुनै पनि डिजिटल वालेट वा बैंक सम्बन्धी OTP कसैलाई नदिनुहोस्।