काठमाडौंमा चोरीको आतंक : १२ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौंमा चोरीको आतंक : १२ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौं,  राजधानी काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा चोरीका घटना हुँदा १२ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ।

प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–१२ सिमलटार मा डेरा गरी बस्दै आएका काभ्रे घरका २९ वर्षीय रामबहादुर विक को कोठाबाट सुन, चाँदी तथा नगद गरी करिब २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

यस्तै, कागेश्वरी मनोहरा नगरपालिका–८ अमरसिंह चोक नजिक डेरा गरी बस्ने पाल्पा घरकी २४ वर्षीया दिया आले मगर को कोठाबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब ९ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

दुवै घटनामा संलग्न व्यक्तिहरू फरार रहेका छन्। प्रहरीले चोरीमा संलग्नहरूको खोजी कार्य तीव्र बनाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

लगातार बढिरहेका चोरीका घटनाले सर्वसाधारणमा सुरक्षा चिन्ता बढाएको छ। प्रहरीले घर तथा डेरामा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।