भाइब्रेन्ट गोवा सम्मेलनमा नेपाल चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य र पर्यटन साझेदारी प्रस्ताव

भाइब्रेन्ट गोवा सम्मेलनमा नेपाल चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य र पर्यटन साझेदारी प्रस्ताव

काठमाडौँ । भारतको गोवामा सम्पन्न ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा नेपाल चेम्बर अफ कमर्सको व्यापारिक प्रतिनिधिमण्डलले सफलतापूर्वक सहभागिता जनाएको छ। लुम्बिनी चेम्बरका अध्यक्ष टंकप्रसाद पोखरेलको नेतृत्वमा गएको १९ सदस्यीय नेपाली टोलीले सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय व्यापारिक सञ्जाल विस्तार, पर्यटन प्रवर्द्धन तथा नेपालमा वैदेशिक लगानीका सम्भावनाहरूबारे उच्चस्तरीय छलफल गरेको छ।

सम्मेलनका अवसरमा नेपाली प्रतिनिधिमण्डलले गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँग विशेष भेटवार्ता गर्दै लुम्बिनी–गोवा र पोखरा–गोवाबीच सिधा पर्यटन साझेदारी एवं संयुक्त पर्यटन सर्किट निर्माणको प्रस्ताव राखेको छ। भेटमा मुख्यमन्त्री डा. सावन्तले गोवालाई लगानी र व्यापारका लागि सहज बनाउन राज्य सरकार प्रतिबद्ध रहेको बताउँदै नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूसँग पर्यटन साझेदारी बढाउने प्रस्तावलाई स्वागतयोग्य कदमका रूपमा व्याख्या गर्नुभयो।

गोवास्थित डा. श्यामाप्रसाद मुखर्जी इन्डोर स्टेडियममा अक्टोबर २९ देखि ३१ सम्म आयोजित तीनदिने सो अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका विभिन्न देशका प्रतिनिधि तथा हजारौँ उद्यमी-व्यवसायीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा चेम्बर प्रतिनिधिमण्डलले विदेशी लगानीकर्ताहरूलाई नेपालका उद्योग, व्यापार र पूर्वाधारका क्षेत्रमा रहेका प्रचुर अवसरहरूबारे जानकारी गराउँदै सहकार्यका लागि औपचारिक आह्वान समेत गरेको छ।

चेम्बरका लुम्बिनी प्रदेश सचिव प्रदीप आचार्यका अनुसार सम्मेलनमा गोवाका मुख्यमन्त्री सावन्त, राज्यसभा सदस्य सदानन्द शेट तानावडे,भारतका पूर्वकेन्द्रीय मन्त्री सुरेश प्रभु र भाइब्रेन्ट गोवाका अध्यक्ष राजकुमार कामतलगायत भारतका  व्यावसायिक तथा राजनीतिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।