अमेरिका र क्रोएशिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, जेठ — वैदेशिक रोजगारीका नाममा अमेरिका र क्रोएशिया पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दोलखा शैलुङ गाउँपालिका–२ घर भई भक्तपुर मध्यपुर थिमि नगरपालिका–९ बस्ने ४५ वर्षीया रूकु कुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका–६ घर भई काठमाडौं टोखा नगरपालिका–६ बस्ने ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन्।

प्रहरीका अनुसार रूकु कुमारी श्रेष्ठले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट ३५ लाख रुपैयाँ तथा शैलेन्द्र शाक्यले क्रोएशिया पठाइदिने भन्दै अर्का एक जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अनुसन्धान अघि बढाई रूकु कुमारीलाई भक्तपुरको मध्यपुर थिमि–८ तथा शैलेन्द्रलाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीका लागि विदेश जान चाहनेहरूलाई आधिकारिक म्यानपावर कम्पनी तथा सम्बन्धित सरकारी निकायबाट आवश्यक जानकारी लिएर मात्र प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।