विभिन्न देश पठाइदिने भन्दै लाखौं ठगी गर्ने चार जना पक्राउ
काठमाडौं, जेठ — वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र राम्रो रोजगारीको प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुर्खेत घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ३४ वर्षीय सुनिल पौडेल, सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २२ वर्षीय अनुप भण्डारी, जाजरकोट घर भई ललितपुर बस्ने ३४ वर्षीया कबिता सिंह तथा धादिङ घर भई काठमाडौं चन्द्रागिरी बस्ने २५ वर्षीय बिशु राई रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिलाई पोल्याण्ड, कुक आइसल्याण्ड, अमेरिका तथा क्रोएसिया पठाइदिने आश्वासन दिँदै ठूलो रकम असुलेर सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अनुसन्धान अघि बढाई उनीहरूलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा सुनिल पौडेलले ३ जना पीडितबाट २४ लाख १७ हजार रुपैयाँ, अनुप भण्डारीले १ जना पीडितबाट ३५ लाख ५० हजार रुपैयाँ, कबिता सिंहले १ जना पीडितबाट ३ लाख ७२ हजार रुपैयाँ तथा बिशु राईले ४ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रहरीले वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई आधिकारिक म्यानपावर कम्पनी तथा सरकारी निकायबाट जानकारी लिएर मात्रै प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।



प्रतिकृया दिनुहोस्