देशभर लागूऔषधविरुद्ध प्रहरीको ठूलो अपरेशन : एकै दिन १६ जना पक्राउ

देशभर लागूऔषधविरुद्ध प्रहरीको ठूलो अपरेशन : एकै दिन १६ जना पक्राउ

काठमाडौं, २७ जेठ — नेपाल प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै देशका विभिन्न जिल्लाबाट एकै दिन १६ जनालाई पक्राउगरेको छ। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, ब्राउन सुगर, अफिम, गाँजा, ट्रामाडोल, नाइट्राभेट लगायतका लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

काठमाडौं, उदयपुर, बर्दिया, बाँके, चितवन, ललितपुर, जुम्ला, सुनसरी र मोरङमा सञ्चालन गरिएको विशेष कारबाहीका क्रममा लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सबैभन्दा ठूलो बरामद बाँकेको कोहलपुरबाट भएको छ, जहाँ प्रहरीले करिब १ किलोभन्दा बढी अफिम सहित दुई जनालाई पक्राउ गरेको छ। त्यस्तै चितवनमा करिब ५ किलो गाँजा, सुनसरी र मोरङमा ब्राउन सुगर तथा अन्य स्थानबाट ठूलो परिमाणमा नियन्त्रित औषधि बरामद गरिएको छ।

प्रहरीका अनुसार लागूऔषधविरुद्धको अभियान अझ सशक्त बनाइनेछ र अवैध कारोबारमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइनेछ। पक्राउ परेका सबै व्यक्तिमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाइरहेका छन्।

लागूऔषधमुक्त समाज निर्माणका लागि प्रहरीको अभियान निरन्तर जारी छ।