नेपाल प्रहरीमा व्यापक सुधारको लहर, आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा प्रविधि, पारदर्शिता र जनसेवामा नयाँ फड्को

नेपाल प्रहरीमा व्यापक सुधारको लहर, आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा प्रविधि, पारदर्शिता र जनसेवामा नयाँ फड्को

काठमाडौं, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की को नेतृत्वमा संगठनले छोटो अवधिमै सुधार, आधुनिकीकरण र जनमुखी सेवाका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। प्रहरी संगठनको क्षमता अभिवृद्धि, कर्मचारी कल्याण, प्रविधिको विस्तार, पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा भएका प्रयासहरूले नेपाल प्रहरीलाई थप सक्षम, आधुनिक र जनविश्वासयोग्य संस्थाका रूपमा स्थापित गर्ने संकेत देखिएको छ।

प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि र कल्याणलाई प्राथमिकतामा राख्दै हजारौं प्रहरी कर्मचारीलाई सहुलियत कर्जा, शैक्षिक सहायता तथा स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइएको छ। यस अवधिमा ४ हजार ८ सयभन्दा बढी प्रहरी कर्मचारीले विभिन्न शीर्षकमा दुई अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सहुलियत सुविधा प्राप्त गरेका छन्।

प्रविधि र डिजिटल रूपान्तरणतर्फ नेपाल प्रहरीले महत्वपूर्ण छलाङ मारेको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) स्थापना गरी सञ्चालनमा ल्याइएको छ। प्रहरी मोबाइल एपमार्फत नागरिकले सहज रूपमा उजुरी तथा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ भने देशभर १ हजारभन्दा बढी सीसीटीभी क्यामेरा जडान गरी सुरक्षा निगरानीलाई थप सुदृढ बनाइएको छ।

पारदर्शिता र सुशासनलाई संस्थागत गर्न बढुवा तथा सरुवासम्बन्धी प्रक्रियामा सुधार, कार्यसम्पादन मूल्याङ्कन प्रणालीको कार्यान्वयन, रणनीतिक योजना निर्माण तथा विभिन्न नयाँ कार्यविधि लागू गरिएका छन्। संगठनलाई बाह्य प्रभावबाट मुक्त राख्ने उद्देश्यले व्यावसायिक आचरण र जवाफदेहितालाई थप मजबुत बनाइएको छ।

संस्थागत क्षमता विस्तारअन्तर्गत देशभरका विभिन्न प्रहरी कार्यालयका लागि नयाँ जग्गा प्राप्ति, ड्रोन तथा एन्टी–ड्रोन इकाई स्थापना प्रक्रिया, अन्तर्राष्ट्रिय शान्ति मिसन विस्तार तथा ११ हजार ५ सयभन्दा बढी जनशक्तिलाई स्वदेश तथा विदेशमा तालिम प्रदान गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई पनि व्यापक रूपमा विस्तार गरिएको छ। देशभर सञ्चालन गरिएका ६ हजार ५ सयभन्दा बढी कार्यक्रममार्फत ११ लाखभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना, न्यानो कपडा तथा खाद्यान्न वितरण, बालमैत्री कक्ष स्थापना लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रमले प्रहरीको मानवीय पक्षलाई थप उजागर गरेको छ।

त्यसैगरी पूर्वाधार विकासतर्फ विभिन्न जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनहरू सञ्चालनमा ल्याइएको छ। यसले सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

नेपाल प्रहरीको नेतृत्वमा अघि बढाइएका यी सुधारात्मक अभियानहरूले संगठनलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र जनउत्तरदायी संस्थाका रूपमा रूपान्तरण गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको विश्लेषण गरिएको छ।


तस्बिर: नेपाल प्रहरी