ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ, अनलाइन ब्ल्याकमेलिङ गिरोह सञ्चालन गरेको आरोप

ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ, अनलाइन ब्ल्याकमेलिङ गिरोह सञ्चालन गरेको आरोप

काठमाडौं, काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट अनलाइन ब्ल्याकमेलिङ तथा साइबर ठगीमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भिजिट भिसामा नेपाल आएका विदेशी नागरिकहरू भिसाको उद्देश्यविपरीत शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित एक होटलका विभिन्न कोठा भाडामा लिएर उनीहरूले संगठित रूपमा अवैध गतिविधि सञ्चालन गरिरहेको खुलेको हो।

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूले विदेशी मोडल तथा युवतीहरूको नाम र तस्बिर प्रयोग गरी नक्कली फेसबुक एकाउन्ट बनाउने, बंगलादेशी र भारतीय नागरिकहरूसँग सामाजिक सञ्जालमार्फत मित्रता गाँस्ने, त्यसपछि विभिन्न बहानामा ब्ल्याकमेल गरेर रकम असुल्ने प्रयास गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त समूहका मुख्य सदस्य मानिएका २५ वर्षीय MD Majidul Islam Redoy सहित १५ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध अध्यागमनसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रहरीले जनाएको छ।

यस घटनालाई नेपालमा बसेर अन्तर्राष्ट्रिय स्तरको साइबर अपराध सञ्चालन गर्ने प्रयासविरुद्धको महत्वपूर्ण कारबाहीका रूपमा हेरिएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ब्ल्याकमेलिङ र साइबर ठगीका घटना बढिरहेका बेला प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई थप कडा बनाएको जनाएको छ।